मान्म, १३ मङ्सिर । कालीकोट जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ ।
पलाँता गाउँपालिका–७ पारौटीका ४० वर्षीया जयपुरा बमको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शुक्रबार बेलुका उद्धार गरिएको हो ।
गर्भवती रहेकी बमको सुत्केरी ब्यथा लागेपछि स्थानीय स्वास्थ्यचौकीमा आएको र पाठेघरको मुख खुले पनि शिशु जन्मिन नसकेका कारणले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुख हिमाल सन्ज्यालले बताउनुभयो ।
बमको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उहाँलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट सुर्खेत अस्पतालमा लगिएको पलाँता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विनोद न्यौपानेले बताउनुभयो । “बमको शरीरमा रगतको मात्रा कमी रहेको तथा स्वास्थ्य अवस्थासमेत कमजोर रहेको छ”, उहाँले भन्नुभयो, “पाठेघरमा जटिल समस्या देखिएका कारणले उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल थप उपचारका लागि लगिएको छ ।”(रासस)