रामपुर, २ चैत । विश्वकर्मा समुदायको पुर्खौली पेशा आरन लोप हुन नदिन संरक्षण गर्न थालिएको छ । यसको संरक्षणमा रामपुर नगरपालिका वडा नं ४ ले विश्वकर्मा समुदायको चिनारीको व्यवसाय समुदायबाटै लोप हुन थालेपछि संरक्षण गर्न सहयोग गर्न थालेको छ ।
वडा कार्यालयले आरन व्यवसायलाई प्रवद्र्धन र संरक्षण गर्दै जस्तापाता, पङ्खा जस्ता विभिन्न सहयोग गत वर्षदेखिनै गरेको वडा सदस्य पार्वती परियारले बताउनुभयो । वडामा करिब आधा दर्जन आरन व्यवसायी छन् । आरन व्यवसायलाई जोगाउन जस्तापाता र पङ्खा पाएपछि काममा हौसला बढेको सिन्दुरटार बस्ने ६४ वर्षीय मनबहादुर विकले बताउनुभयो ।
“आर्थिक अभावमा आरनको छानो छाउन सकिएको थिएन, वडाले छानो छाउन जस्तापाता र पङ्खा उपलब्ध गराएपछि काम गर्न सहज भएको छ”, विकले भन्नुभयो । उहाँले जीवनको ५७ वर्षको समय आरन व्यवसायमा बिताउनुभयो ।
अहिलेसम्म व्यवसायका लागि कोही कसैबाट सहयोग पाउनुभएको थिएन । सहयोगपछि व्यवस्थित तरिकाले व्यवसाय चलाउने उहाँ बताउनुहुन्छ । यो कामले १५ जनाको परिवारपालनमा सहयोग पुगेको छ । मौलाथरका युवा सुरेन्द्र कामी विसं २०५४ देखि गाउँमा सबैले छाड्दै गएको आरन व्यवसाय जोगाउन दुःखसुखले चलाउँदै आएको छ भन्नुहुन्छ । “पेशा जोगाउन जेनतेनले चलाएका थिए, जनप्रतिनिधि आएपछि पुरानो व्यवसायलाई जोगाउन सहयोग गर्नुभएको छ, असाध्यै खुशी लागेको छ”, उहाँले भन्नुभयो । यही व्यवसायबाट सात जनाको परिवारको गुजारा चलेको उहाको भनाइ छ ।
गामपोखरा बस्ने कृष्णकुमारी कामी हातले कुदेर कलात्मक रुप दिइ गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हसियालगायतका विभिन्न सामग्री बनाउने गर्नुहुन्छ । यस व्यवसायमा युवापुस्ताले चासो नदिनु, गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको पुरानो आरन व्यवसाय नै लोप हुँदै गएको हो । पुरानो व्यवसाय संरक्षण नहुँदा समुदायको चिनारी नै लोप हुन थालेपछि संरक्षण गर्न थालिएको वडाध्यक्ष एकबहादुर नेपाली बताउनुहुन्छ ।
“युवापुस्ता आरनसम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लागे, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने कुनै युवा नहुँदा व्यवसाय हराउँदै गएकोले यसको संरक्षणमा वडा कार्यालय लागेको छ”, अध्यक्ष नेपालीले भन्नुभयो । दश वर्ष पहिले यस क्षेत्रमा ५० बढी आरन व्यवसाय सञ्चालनमा थिए । अहिले भने थारैले मात्र यो व्यवसाय चलाएको पाइन्छ । –––