१२ पुस २०८१, शुक्रबार

विद्युत्सेवा अवरुद्ध, तीन सय घरधुरी अँध्यारोमा


विद्युत् प्रसारण लाइन

रुकुमपूर्व, २५ साउन । गत बिहीबारदेखि सिस्ने गाउँपालिका वडा नं ३ स्थित पाँगामा विद्युत् सेवा अवरुद्ध हुँदा पाँगास्थित ३०० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् ।

गाउँमा विद्युत् वितरणका लागि राखिएको २५ केभिएको ट्रान्सफर्मर जलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयलाई विद्युत्बाट हुने काम गर्न समस्या भएको छ ।

गाउँमा रहेका काष्ठ उद्योग, विद्यालयलगायत स्थानीयलाई मोबाइल चार्ज गर्न समस्या भएको सिस्ने गाउँपालिका वडा नं ३ की स्थानीय रीता खड्काले बताउनुभयो । विद्युत् सेवा अवरुद्ध भएपछि टुकी बालेर बस्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

ट्रान्सफर्मर बनाउन धेरै समय लाग्ने भएकाले तत्कालै विद्युत् सेवा सञ्चालन गर्न नसकिने नवभिजन विद्युत् सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र मल्लले बताउनुभयो । उहाँका अनुसार ट्रान्सफर्मर मर्मतका लागि बुटवलबाट प्राविधिक ल्याउनुपर्ने भएकाले विद्युत् सेवा तत्काल सञ्चालन गर्न नसकिने भएको हो । विद्युत् सेवा सञ्चालन गर्नका लागि कम्तीमा पनि एक दुई हप्ता लाग्न सक्ने उहाँको भनाइ छ ।

अहिले पाँगालगायत पोखरा रुकुमकोटमा बाँफीकोट गाउँपालिका वडा नं २ पीपल रुकुमपश्चिममा रहेको नवभिजन लघुजलविद्युत् सहकारी संस्थाबाट उत्पादित बिजुली बल्दै आएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !