१२ पुस २०८१, शुक्रबार

१३ प्रतिशत जनता स्वच्छ पिउने पानीबाट वञ्चित


Water supply

४ चैत, चिप्लेढुङ्गा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले समुन्नत समाजका लागि स्वस्थ नागरिक हुनुपर्ने बताउनुभएको छ । नेष्डो समृद्ध लघुवित्तीय संस्था लिमिटेडको आयोजनामा पोखरामा भएको ‘उपभोक्ताको आर्थिक समृद्धिका लागि सकारात्मक सोचमा आधारित प्रभावकारी वित्तिय सेवा’ विषयको राष्ट्रिय कार्यशाला गोष्ठीमा उहाँले संविधानले दिएको १६ मौलिक अधिकारभित्र स्वच्छ खानेपानी पनि बताउनुभयो ।

सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङले खानेपानी र सरसफाइ जीवनको महत्वपूर्ण पक्ष भएकाले राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सुदूरपश्चिम प्रदेशसभा सदस्य मीना साउदले खानेपानी नागरिकको जीवनचर्यासँग जोडिएको महत्वपूर्ण पाटो भएकाले यस सम्बद्ध नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले अझै पनि १३ प्रतिशत जनता स्वच्छ पिउने पानीबाट वञ्चित रहेकाले राज्य यसप्रति संवेदनशील बन्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले खानेपानी र सरसफाइमा सचेतना जगाउन सञ्चारमाध्यम प्रभावकारी बन्दै गएको बताउनुभयो । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था(नेष्डो)का संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईँले संस्थाले १७ जिल्लामा ५६ शाखा मार्फत ८० हजार महिला तथा विपन्न परिवारको चेतना, सङ्गठन एवं आयआर्जन गर्दै जीविकोपार्जनमा सुधार ल्याउन भूमिका खेलेको बताउनुभयो ।

नेष्डोका उपाध्यक्ष विश्वबन्धु प्रसाईँले नेष्डो नेपालको आर्थिक सहयोग, खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालको संयोजन र पर्वत शाखाको आतिथ्यतामा भएको दुईदिने राष्ट्रिय कार्यशाला गोष्ठीमा झण्डै ५० जिल्लाका एक सय प्रतिनिधिको सहभागिता रहेको जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !