४ बैशाख २०८१, मंगलबार

अझै हटेन पाल्पाको गाम्रीण क्षेत्रमा जातीय छुवाछूत


जातीय विभेद

पाल्पा । पाल्पाको गाम्रीण भेगमा जातीय छुवाछूत तथा भेदभावजन्य हिंसाका घटना अन्त्य हुन सकेको छैन । रुढीवाढी तथा अन्धविश्वासबाट मुक्त हुन नसक्दा ती हिंसा नरोकिएको जनाइएको छ ।

नेपालको संविधान–२०७२ ले ‘जात व्यवस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्न पाइने छैन’ भन्ने उल्लेख छ । जातीयताकै कारण आफूहरुले मन्दिरमा चढाएको प्रसाद फिर्ता भएको यहाँका दलितले दुःखेसो पोखेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ तालपोखराको शिवमन्दिर पुनःनिर्माण गरिएको छ । प्रत्येक शनिबार र आइतबार पूजाआराधना गरिने मन्दिरमा शिवरात्रिलगायतका पर्वमा विशेष पूजा हुँदै आएको छ ।

विगतका वर्षहरूमा मन्दिरमा दूध, हलुवा तथा प्रसाद चढाए पनि दलित जातिको भनी फिर्ता गरिदिँदा यहाँका दलित जातीय भेदभाव तथा छुवाछूत भोग्न परेकामा गुनासो गर्दछन् । मन्दिरमा भेटी चढ्ने, टीका र प्रसाद टाढाबाटै दिने गरेको स्थानीयवासी सीता विकले बताए ।

मन्दिर निर्माणमा दलित र गैरदलितले बराबर रकम सङ्कलन गरी निर्माण थालिएको थियो । मन्दिर तथा अन्य सार्वजनिकस्थलमा दलितमाथि छोइछिटो तथा भेदभाव नहटेको स्थानीय मनकला सुनारले बताए ।

दलित समुदायले आफूहरूले चढाएको फूल, प्रसाद मन्दिरका पुजारीले फिर्ता गरिदिएको आरोप लगाएका छन् । मन्दिरमा दलित र गैरदलितलाई समान व्यवहारका लागि दलित अगुवाहरूले निवेदन दिए पनि सुनुवाइ हुन नसकेको उनीहरूको भनाइ छ ।

दलितले ल्याएका फूलप्रसाद, दूध मन्दिरमा चढाएका छौँ, आफूले मन्दिरमा भेदभाव नगरेको र दलितले ल्याएका प्रसाद चढाएको सोही मन्दिरका पूजारी छविलाल पन्थीले जानकारी दिए ।

जिल्लामा जातीय छुवाछूत तथा भेदभावका घटना अझै अन्त्य भएको छैन । दलित तथा गैरदलितलाई जागरुक बनाउँदै छुवाछूत तथा भेदभाव गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने स्थानीयवासी सुनिल नेपालीको माग छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !