७ पुस २०८१, आइतबार

चितवनमा छुवाछूतमुक्त अभियान शुरु


छुवाछूतमुक्त अभियान

चितवन । भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि छुवाछूत मुक्त अभियान शुरु गरेको छ । महानगरले नीतिगत कार्यक्रम नै बनाएर सामाजिक अन्तरघुलनका निम्ति छुवाछूतमुक्त अभियान शुरु गरेको हो ।

महानगरप्रमुख रेनु दाहालले समाजमा अझै पनि विभेद रहेको बताउँदै भने, “अब नीतिगत रुपमा शुरु भएको छुवाछूतमुक्त अभियानले जातीय छुवाछूत र विभेद अन्त्य गर्न विशेष योगदान गर्ने छ ।” महानगरले अन्तरजातीय विवाह गर्ने दुई दम्पतीलाई १/१ लाख नगदसहित सम्मानपत्रले सम्मानित गर्दै अभियानको शुरुआत गरेको हो ।

भरतपुर–२७ का उदय सुनार, प्रतिमा गुरुङ सुनार र भरतपुर–६ का दीपक बुढाथोकी र निशा परियार बुढाथोकीलाई सो रकम प्रदान गरिएको हो । छुवाछूतमुक्त अभियानअन्तर्गत अन्तरजातीय विवाह गर्ने दम्पतीलाई प्रोत्साहनस्वरुप सो रकम सहयोग गरिनेछ ।

महानगर उपप्रमुख पार्वती शाहले जातीय विभेद र छुवाछूतरहित समाज निर्माणमा महानगरको यो अभियानले मुलुकमा नै नयाँ तरङ्ग ल्याउने विश्वास व्यक्त गरे ।

जगतपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक उदय सुनार र गुञ्जनगर स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा गुरुङ सुनारले छ वर्ष प्रेम सम्बन्धपछि विवाह गरेका थिए । प्रतिमाले छरछिमेकका कारण आफ्नो परिवारले पूर्ण रुपमा स्वीकार गर्न नसकेको अवस्थामा महानगरको यो सम्मानले समाज परिर्वतनमा ध्यान पुग्ने बताए ।

उनले बोलेरभन्दा पनि महानगर कामै गरेर अभियान थालेकामा यसलाई निरन्तरता दिन माग गरे । तनहुँ व्यास नगरपालिका–१ की प्रतिमाले २०७७ सालमा भरतपुर २७ का उदयसँग अन्तरजातिय विवाह गरेका थिए ।

यस्तै अर्का दम्पती दीपक र निशाले चार वर्षको प्रेम सम्बन्धपछि विवाह गरेका हुन् । स्थानीय सरकारले नै यसरी सम्मान गरेपछि यो अभियानले सार्थकता पाउने उनीहरुले बताए । कक्षा ५ सम्म अध्ययन गरेका दीपक सवारी चालक छन् भने उनकी श्रीमती निशा कक्षा ११ मा अध्ययनरत छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !