७ बैशाख २०८१, शुक्रबार

नारायणगढ-मुग्लिनको धसिएको सडक बनेन


नारायणगढ-मुग्लिनको धसिएको सडक

चितवन, २ असार । नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार १७ किलोमा चारदेखि चार दशमलव पाँच मिटर फराकिलो ४० मिटर लामो क्षेत्र धसिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । त्यसैगरी २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटरसम्म भासिएको छ । यस क्षेत्रमा सडक १२ मिटर फराकिलो रहेको छ ।

दुवै क्षेत्रमा दुईवर्ष अघि असारमा सडक भासिएको हो । सडक साँघुरो हुँदा सहज दुईतर्फी सञ्चालनमा कठिनाइ भएको छ । ती दुवै क्षेत्रमा विसं २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाइएको छ ।

ती क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको हो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मर्मतका लागि दुईपटक बोलपत्र आह्वान गर्दा समेत कोही पनि नआएको बताउनुभयो । प्राविधिकरूपमा दक्ष भएको ठेकेदार कम्पनीले मात्र काम गर्न सक्ने भएकाले जो कोहीले आँट नगरेको बुझिएको छ । ठेक्का नपरेपछि यस वर्षको वर्षात्मा पनि यत्तिकै सडक सञ्चालन गर्नुपर्ने भएको छ । धसिएको क्षेत्र बढेमा वर्षात्को समयमा समस्या आउन सक्ने जनाइएको छ ।

सूचना अधिकारी खनालले भित्तोपट्टिको भागमा सम्याएर ग्राबेल राख्ने काम गरिएको जानकारी दिनुभयो । यसबाट दोहोरो सवारी साधन आवागमन गर्न सक्ने छ । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । वर्षात्मा पहिरो खस्न रोक्नका लागि भने अहिले पनि काम भइरहेको छ । चार किलोबाहेकका क्षेत्रमा काम सम्पन्न भएको खनालले जानकारी दिनुभयो । यस सडक राजधानी भित्रिने र बाहिरिने प्रमुख मार्ग हो । यहाँबाट दैनिक १० हजार सवारी साधन आवागमन गर्दछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !