८ पुस २०८१, सोमबार

नेपाली भू-उपग्रह नेपाली स्याट-१ ले लियो भुटान, बङ्गलादेश तथा भारतको तस्बिर


नेपाली भू-उपग्रह

मंसीर ३०, काठमाडौं । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भू-उपग्रह नेपाली स्याट-१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट-१ पहिलो पटक ती तस्वीर लिन सफल भएको हो ।

करिब एक महिनाअघि नेपाली स्याट-१ ले उक्त तस्वीर लिएको जानकारी जापानस्थित क्यूटेक विश्वविद्यालयले दिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्र प्रसाद ढकालले जानकारी दिए । उनले भने, ‘नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण हामी नेपाली स्याट-१ मार्फत नेपालमाथिको आकाशबाट भने ठ्याक्कै तस्वीर कैद गर्न सफल भएका छैनौं ।’ सो भूउपग्रह नेपाल आएर फर्केर जाँदा नाष्ट रेडियो उपकरण मिलान गर्न सफल भएन । नाष्टभित्रकै प्रविधिमा ससाना समस्या देखिएकाले सोको खरीद प्रक्रियामा नाष्ट अघि बढेको ढकालले बताए ।

नाष्टले आफ्ना प्राविधिक इञ्जिनीयरलाई ग्राउण्ड स्टेशनबारे थप जानकारी हासिल गराउन केही दिनका लागि जापान पठाउने तयारी गरिरहेको छ । नाष्टले भूउपग्रहबारे तीनदेखि चार दिनको तथ्याङ्क सङ्कलन गरेर अध्ययन गर्दा ती तस्वीर कैद भएको सूचना प्राप्त गरेको थियो । नेपालले गत वैशाख ४ गते नेपाली स्याट-१ नामक उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो ।

नेपाली स्याट-१ मा पाँच मेगा पिक्सलको क्यामेरा जडान गरेका कारण यसबाट अलि धमिलो तस्वीर कैद हुने बताइएको छ । गत साउन पहिलो साता नेपाली स्याट-१ ले पहिलो पटक सूर्य र पृथ्वीका साथै चीन र भारत सिमानाका तस्वीर खिंचेको कुरा जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि नाष्टले सार्वजनिक गरेको थियो ।

नेपाली स्याट-१ सँग दुईदेखि तीन वर्षसम्म तस्वीर सङ्कलन गर्ने क्षमता छ । जापानको ‘बर्ड-३’ परियोजनामार्फत मुलकले उक्त भू-उपग्रहको काम अघि बढाएको थियो । नेपाली स्याट-१ सँगै गत वैशाख ४ गते श्रीलङ्काले रावण-१ र जापानले युवुसु नामक भूउपग्रह एकैसाथ प्रक्षेपण गरेका थिए । नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो । सो भूउपग्रहले ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गर्छ । यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्ने नाष्टले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !