१२ बैशाख २०८१, बुधबार

‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ को अवसरमा २ जना पत्रकारहरु पुरस्कृत


पुरस्कृत पत्रकारहरु

असोज १, २०७६, काठमाडौँ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ सफलतापूर्ण भव्यताका साथ सम्पन्न गरेको छ । यस वर्षको राष्ट्रिय बिज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ । उक्त दिवसको मूल समारोह समितिको मुख्य कार्यक्रम आज राष्ट्रियसभा गृह, भृकृटीमण्डपमा भएको थियो । सो अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाई उत्कृष्ठ योगदान पुर्याउने २ जना पत्रकारहरुलाई पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान-सम्पादक गोपाल भण्डारी र एबिसी टेलिभिजनकी समाचारवाचिका एवं प्रस्तोता सन्तोषी अधिकारीलाई सम्मान स्वरुप रु. १५ हजार राशिको पुरस्कार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नुभयो।
गोपाल भण्डारीपुरस्कृत हुने गोपाल भण्डारीले गोल्डेन साईन्फिक एज मासिक पत्रिकामा सन् २००९ देखि सन् २०१० सम्म सह-सम्पादक, रिभो साइन्स मासिक पत्रिकामा सन् २०१२  देखि सन् २०१४ सम्म सह-सम्पादक, साइन्स इन्फोटेक डट कम डट एनपी अनलाइन पत्रिकामा सन् २०१४ देखि हालसम्म प्रधान-सम्पादकको रुपमा रहेर काम गर्नु भएको छ । एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न भण्डारीका विभिन्न विषयहरुका १२ वटा पुस्तकहरु, ८ वटा अनुसन्धानात्मक प्रतिवेदनहरु, ४ वटा  बैज्ञानिक जगत नामक जर्लनमा अनुसन्धानात्मक लेखहरु, विभिन्न बिज्ञान मासिक, पाक्षिक पत्रपत्रिकाहरुमा लगभग १०० वटा जति बिज्ञान सम्वन्धि लेखहरु  र  विभिन्न अनलाइनहरुमा लगभग १,००० जति बिज्ञान र अन्य बिषयहरुका लेखहरु प्रकाशित छन्।
सन्तोषी अधिकारीअर्की पुरस्कृत हुनु भएकी पत्रकार सन्तोषी अधिकारीले विगत १४ वर्षदेखि पत्रकारिता शुरु गरेकी हुन् । शुरुवाती दिनमा देशान्तर साप्ताहिक, नुवाकोट एफएम, नेपालवाणी रडियो नेटवर्क, इमेज एफ एम, इमेज न्युज एफमा समाचारवाचिका साथै कार्यक्रम संचालिकाको रुपमा काम गरेकी थिइन् । उनले एभिन्युज टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन हुँदै हाल एबिसी न्युज टेलिभिजनमा समाचारवाचिका एवं कार्यक्रम निर्माता, प्रस्तोताको रुपमा काम गर्दै आएकी छिन् । हाल उनले एबीसी टेलिभिजनमा समाचार वाचनका साथै स्वास्थ्य विज्ञानसंग सम्बन्धित कार्यक्रम आवर हेल्थ सञ्चालन गर्दै आएकी छन् । उनका विज्ञानसँग विभिन्न अनुसन्धानमुलक लेख र रचनाहरु प्रकाशित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !