काठमाडौँ । पाँचौ हिमालयन ओत सञ्जालको सम्मेलन काठमाण्डौमा आज कार्तिक १३ गतेबाट सुरु भएको छ । हिमालयन ओत सञ्जालको आयोजना र वन्यजन्तु अध्ययन तथा शिक्षा सञ्जालको सहकार्यमा काठमाण्डौमा दुई दिने सम्मेलन सुरु भएको छ ।
सम्मेलनमा हिमालयन क्षेत्रमा भएका ओत सम्वन्धि विभिन्न अध्ययन तथा अनुसन्धान कार्यपत्रहरु पनि प्रस्तुत हुनेछन् । यस सम्मेलनमा भारत र नेपालमा भएका विभिन्न अध्ययनहरु प्रस्तुत गरिनेछ ।
सम्मेलनको उद्घाटन सत्र वन्यजन्तु अध्ययन तथा शिक्षा सञ्जालका अध्यक्ष मोहन विक्रम श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि डा. नरेश सुवेदीले ओत संरक्षणको लागी समुदायमा आधारित संरक्षणमा जोड दिएका छन् ।
त्यसैगरी आई.यू.सि.एन, नेपाल, डब्लु.डब्लु.एफ, यूकेकी सिनियर एड्भाइजर निकोला लोइथ, डब्लु.डब्लु.एफ, नेपालका राजेश सादा, जुलोजिकल सोसाइटी लण्डन–नेपालका डा. दिनेश न्यौपाने, वन्यजन्तु संरक्षण नेपालका प्रसन्न योञ्जन, हिमालय प्रकृतिका करण बहादुर शाह र आई.यू.सि.एन,एस.एस.सि, ओ.एस.जी सदस्य प्रोफेसर पारस मणि आचार्यले ओत अध्ययन तथा संरक्षणको महत्वको वारेमा प्रकाश पारे ।
कार्यक्रमको दोस्रो सत्रमा मोहन विक्रम श्रेष्ठले नेपालमा पाइने ओतका प्रजातिहरुको पहिचान गरी चिन्ने प्रक्रिया, तिनिहरुको वासस्थान छनोट तथा विभिन्न वानि व्यवहारको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसैगरी डब्लु.डब्लु.एफ, नेपालका राजेश सादा र आशिष कपालीले कर्णाली नदीमा ओत संरक्षण सम्वन्धि गरीएका विभिन्न क्रियाकलापहरुका वारेमा जानकारी दिए । यसै कार्यक्रममा भारतका संरक्षणकर्मी डा. पुस्पिन्दर जम्वालले ओतको प्रजाती मोडलिङ्ग तथा हिमालय क्षेत्रमा पाइने ओत प्रजाती तथा अध्ययनको डाटा सेन्टरको वारेमा जानकारी दिएका थिए ।














