२३ पुस २०८१, मंगलबार

नांगै आँखाले भूतप उल्का वर्षा आजदेखि हेर्न सकिने


भूतप उल्का वर्षा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुने भएको छ । यो उल्का वर्षा बुटिज (भूतप) नामक तारामण्डलबाट हुने ठानिएको छ । त्यसैले यसको नाम भूतप उल्का वर्षा दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

भूतप उल्का वर्षा पुस १३ देखि सक्रिय रहेकोमा २८ गतेसम्म रहने छ । तर आजराति अत्यधिक मात्रामा यो उल्का वर्षा हुने बताइएको छ । आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिने नासोले जनाएको छ ।

यो उल्का वर्षा हेर्न कुनै उपकरण वा टेलिस्कोप नचाहिने हुँदा नांगो आँखाले देख्न सकिनेछ । प्रति घण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ ।

आगोका झिल्काजस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिने बताइएको छ । अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्ने नासोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहररू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई नै हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा ‘तारा पोइल गएको’ पनि भनिन्छ ।

यस्तो छ हेर्नुहोस् नासोले निकालेको प्रेस विज्ञप्ति

नासोले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !