७ पुस २०८१, आइतबार

विधि विज्ञान र डिजिटल फरेन्सिक


विधि विज्ञान
Gopal Bhandari
गोपाल भण्डारी

विधि विज्ञान (Forensic Science)

विधि विज्ञान भौतिक सवूत प्रमाणहरुको परीक्षण, विश्लेषण, तुलना, पहिचान आदिसँग सम्वन्धीत विज्ञान हो र यसको प्रयोजन खास गरी अपराध अनुसन्धान तथा न्याय सम्पादनमा गर्ने गरिन्छ । भौतिक सवूत प्रमाणले झुठो नबोल्ने, पक्ष विपक्षको आधारमा बयान नदिने, अदालत समक्ष प्रत्यक्ष साक्षीको रुपमा पेश गर्न सकिने र आवश्यकता परे पुनः परीक्षणको लागि संरक्षण गरी राख्न सकिने भएकोले देखि जान्ने तथा मानवीय साक्षी प्रमाण भन्दा भौतिक सबूत प्रमाणको विशेष महत्व रहेको हुन्छ ।

फोरेन्सिक साइन्स (Forensic Science) लाई नेपालीमा विधि बिज्ञान भनिन्छ, यसको उपयोग परापुर्वकालदेखि नै भएको पाईन्छ । कुनैपनि न्यायिक प्रयोजन वा अपराधिक कार्यसंग संलग्न भौतिक वस्तुको बैज्ञानिक तथ्यको आधारमा तर्कपूर्ण विश्लेषण गर्नु नै विधि बिज्ञान हो । यसरी न्यायिक प्रयोजन वा अपराधिक कार्यसंग संलग्न वस्तुको परीक्षण गर्दा बिज्ञानका सबै विधाहरुको उपयोग गरिन्छ । यसप्रकार बैज्ञानिक विकासलाई न्याय सम्पादन कार्यमा उपयोग गरिने हुँदा विज्ञानलाई जनस्तरसम्म पुयाउनको लागि विधि बिज्ञान एउटा सशक्त माध्यम हो ।

डिजिटल फरेन्सिक (Digital Forensic)

सञ्चित विद्युतीय सूचना (Electronically Stored Information) को गहिरो अध्ययनलाई डिजिटल फरेन्सिक (Digital Forensic)भनिन्छ । डिजिटल फरेन्सिक विषय फरेन्सिक विज्ञानको नयाँ देखापरेको एउटा शाखा हो । सामाजिक सेवाको क्षेत्रमा डिजिटल फरेन्सिकको उपयोग गरिनु वा सम्बोधन गरिनु आजको आवश्यकता बनिसकेको छ । डिजिटल प्रविधि वा सूचना प्रविधिसँग सरोकार राख्ने तथा यसबाट सेवा पुर्याइरहेकाहरूका लागि यो एकदमै सरोकारको विषय पनि हो । डिजिटल प्रविधिको बढ्दो प्रयोग तथा उपयोगका कारण यसले हाम्रो समाजमा निकै नै असर पारिराखेको छ । विकसित राष्ट्रहरूमा सूचना प्रविधि सामाजिक सेवाको क्षेत्रमा अत्यधिक प्रयोग भएको पाइन्छ भने हाम्रोजस्तो विकसोन्मुख राष्ट्रमा सूचना प्रविधिप्रति आकर्षित हुँदै गइरहेको अवस्था रहेको छ ।

डिजिटल फरेन्सिक

हाल न्यायालय, लाइसेन्स, नागरिकता, राजस्व लगायतका क्षेत्रमा प्रविधिको प्रयोगले समाजमा सेवाग्राहीहरूलाई धेरै हदसम्म राहत पुगेको हुनुपर्दछ वा राहत पुग्नेछ भने अरू क्षेत्रमा पनि यसको उपयोग विस्तार हुने क्रममा छ र विस्तार गरिनुपर्दछ । अर्थात् डिजिटल प्रविधिप्रति आकर्षित हुनु एकदमै राम्रो पक्ष हो । यसलाई व्यवस्थित गर्नु भने चुनौतीपूर्ण विषय हो । विशेषगरी प्रविधिसँगका गतिविधिहरू विकास वा वृद्धि भइरहँदा यसले उत्तिकै समस्या र अपराधजन्य विकृतिहरू पनि बढाएको छ । अतः यो सम्वन्धीत निकायलाई एकदमै चुनौतीपूर्ण भइरहेको अवस्था छ ।

यस्तै किसिमका नकारात्मक गतिविधि वा प्रविधिसँग जोडिएका विकृतिहरूलाई व्यवस्थित गर्न यसमा कानूनी पक्ष, यससँग सरोकार राख्ने र कानून पालना गराउने निकायबीचको राम्रो समीकरण वा समन्वय भनेको सञ्चित विद्युतीय सूचनाको अध्ययन (डिजिटल विधि विज्ञान अर्थात् डिजिटल फरेन्सिक) विधि हो, जसले सर्वमान्य मापदण्ड निर्धारण गर्न सक्छ । यस किसिमको मापदण्डले निम्न कुरामा फाइदा हुने देखिन्छ । उदाहरणको लागि कसैले एक फ्रड (नक्कली) कार्ड प्रयोग गरी एटिएमबाट रकम निकाल्ने प्रयास गर्छ भने त्यो अपराधी ठहर्छ । तर, सही कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने कोसिस गर्दा पैसा प्राप्त हुँदैन । तर, खातामा त्यसको असर देखापर्दछ भने त्यसको विश्लेषण कसरी गर्ने ? नेपालको लागि अत्यावश्यक ठानिने यो परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नभएतापनि नेपाल सरकारको सहयोग भएमा उक्त सुविधा उपलब्ध गराउन सकिने कुरा सम्वन्धीत निकायका अधिकारीहरु बताउछन् ।

(राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको सहयोगमा)

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

डीएनए (DNA) र नेपालमा यसको इतिहास


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !