१२ पुस २०८१, शुक्रबार

मिथिलामा अक्षय तृतीया पर्व मनाइँदै


अक्षय तृतीया पर्व

महोत्तरी, १४ वैशाख । भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवं चिसो पानीको सर्बत खुवाउँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सक्खर र चिसो पानीमा बनाइएको गुलियो सर्बत खुवाउने हिन्दू मैथिल परम्परा छ । यसपालि भने कोभिड–१९ सन्त्रासले सडकयात्री कम देखिएका छन् ।

अक्षय तृतीया भनिने यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक (बटुवा) लाई शीतलता दिने जौ र चनाको सातु, सक्खर, चिसो पानीमा बनाइएको सर्बत र मिष्ठान्न परिकार खुवाएमा अक्षय (कहिल्यै नाश नहुने) पुण्य प्राप्त हुने मैथिल (मिथिलावासीकोे) जनविश्वास रहेको छ । यस पर्वमा गरिब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्बत राखिएको घडासहितै दान गर्ने परम्परासमेत रहेको मिथिला परम्पराका ज्ञाता महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

अक्षय तृतीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबहरुलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गरे कहिल्यै घरको भण्डार खाली नहुने भविष्य पुराणमा उल्लेख रहेको बर्दिवास–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झाको भनाइ छ ।

गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्बत र पुष्टिबद्र्धक अन्न जौको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ । सुुख र समृद्धिको प्रतीक हुनुका साथै यो पर्वले स्वास्थ्य सन्देश दिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विधानचन्द्र झाको भनाइ छ । पर्वले मौसमअनुसार पुष्टिबद्र्धक भोजन गर्न सन्देश दिएसँगै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देशसमेत दिएको पाका मैथिल बताउँछन् ।

पर्वमा कूलपुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्ठान्न खाद्य परिकार र दक्षिणा दिएर आपूm र परिवारले जीवनमा शीतलताको कामना गर्दै जौ, चनाको सातु र सर्बत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरवास, नानीहरुको अन्नप्रासन र विवाहलगायतका शुभकार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !