२१ कार्तिक २०८१, बुधबार

वाली सुग्रीव उत्पत्ति एक रहस्य


वाली सुग्रीव
सुरेन्द्र प्रसाद सिग्देल
सुरेन्द्र प्रसाद सिग्देल

मेरोःस्वर्णमयस्याद्रेर्मध्यश्रृङ्गे मणिप्रभे ।

तस्मिनसभाऽऽस्ते विस्तीर्णा ब्रह्मणः सतयोजना ।।

तस्यां चतुर्मुखः साक्षात्कदाचिद्योगमास्थितः ।।

नेत्राभ्यां पतितं दिव्यमानन्दसलिलंबहु ।।

तद्गृहीत्वा करे ब्रह्मा ध्यात्वा किञ्चित्तदत्यजत् ।।

भूमौ पतित मात्रेण तमान्जातो महाकपि  ।।

-अध्यात्म रामायण, उत्तर काण्ड सर्ग ३।२–४

मेरु पर्वतको मध्यशिखरमा मणि समान सुवर्णमय प्रकाशमान देखिने ब्रह्माजीको सययोजन फराकिलो सभा भवन छ । एक समय त्यस सभामा ब्रह्माजी ध्यान गरिरहनु भएको थियो । त्यसैबखत उहाँको आँखाबाट दिव्य आनन्द आँसु झर्न लाग्यो । तव भगवानले आफ्नो आँसु हातमा लिएर चिन्तन गरी पृथ्वीमा छोडी दिनुभयो । ब्रह्माजीको आँसु  पृथ्वीमा पर्ने वित्तिकै एउटा ठूलो शरीर भएको वानरको उत्पत्ति भयो । ब्रह्माजीले त्यस वानरलाई त्यसै सययोजन फराकिलो सभामा वस्न आदेश दिनुभयो । एक दिन त्यो वानर घुम्दै जाँदा बाटामा रत्नजडित सोभायमान सुन्दर शिलाले वेष्ठीत तलाउ देख्यो र पानी खाने मनसाय राखी तलाउतर्फ जाँदा तलाउमा वानरको प्रतिविम्ब देखी तलाउमा हाम फाल्यो । तलाउ  भित्र पसेपछि वानरलाई नदेखी बाहिर आउदा त त्यो वानर एउटा परम सुन्दरीको रूपमा परिणत भयो । त्यसैबखत स्वर्गका राजा इन्द्र ब्रह्माजीको पूजा गरी फर्किरहेका थिए ।

अपश्यत्सुन्दरीं रामामात्मानं विस्मयं गतः ।

तत सुरेशो देवेशं पूजयित्वा चतुर्मुखम् ।।

गच्छन्मध्यान्हसमये दृष्ट्वा नारीं मनोरमाम्  ।।

-अध्यात्म रामायण, उत्तर काण्ड सर्ग  ३।९–१०

उनले त्यस्ती परम सुन्दरीलाई देखि मनोवेगलाई थाम्न नसकी आफ्नो वीर्य स्खलन गरीदिए । त्यो वीर्यले सुन्दरीको कपाललाई छुंदै पृथ्वीमा झर्यो। त्यसै वीर्यबाट इन्द्र समान पराक्रमी वालीको उत्पत्ति भयो । त्यसरी आफ्नो वीर्यबाट वालीको उत्पत्ति भएको देखि इन्द्रले त्यहाँ आएर एउटा सुवर्णमय माला वालीलाई दिएर स्वर्ग गए । सूर्य पनि उक्त सभा सम्पन्न गरी त्यही बाटो त्यहाँ आइपुगे ।

वीजं तस्यास्ततःसद्यो महाकायोऽभवद्धरिः ।।

तस्यदत्वा हनूमन्तं सहायतार्थं गतो रविः  ।।

  -अध्यात्म रामायण, उत्तर काण्ड सर्ग  ३।१४

उनले पनि ती परम सुन्दरीलाई देखि मोहित भई उनको पनि वीर्य स्खलन हुन पुग्यो र सुन्दरीको ग्रीवामा खस्यो । त्यो उग्र वीर्यबाट अर्को एउटा विराट शरीर भएको वानरको उत्पत्ति भयो । त्यसरी ग्रीवामा वीर्य खसी उत्पत्ति भएकोले त्यो वानरको नाम सुग्रीव नाम राखि हनुमानको सहायता गर्नु भनी जिम्मा लगाएर गए ।

यसरी ती सुन्दरीले आफ्ना २ वटा पराक्रमी वानर छोराहरूलाई लिएर सुतेकी थिइन् । विहान निन्द्राबाट ब्यूँझिंदा आफु फेरी वानर नै भए । आफु वानर भएपछि ती दुवै छोरालाई लिएर ब्रह्माकै सभामा गए । ब्रह्माजीले तिनीहरूलाई विश्वकर्माले निर्माण गरेको सम्पूर्ण ऐश्वर्यले सम्पन्न दिव्य किष्किन्धा नाम गरेको नगर प्रदान गर्नुभयो र तिनीहरूलाई त्यस नगरको राजा वनाई पठाई दिनुभयो भनेर अध्यात्म रामायणमा वर्णन गरेको पाइन्छ ।

त्यसैगरी वाली र सुग्रीवको उत्पत्तिको सम्बन्धमा भानुभक्तीय रामायणमा पनि अध्यात्म रामायणमा जस्तै केही मात्र फरक ढंगले प्रस्तुत भएको पाइन्छ ।

ब्रह्माको आँसुबाट उत्पन्न भएको वानरको स्वरूप तलाउमा हाम फालेर वाहिर निस्कँदा परम सुन्दरी भएको र ती सुन्दरीलाई देखेर इन्द्र र सूर्यले मन थाम्न नसकि सुन्दरीको कपाल र घाँटीमा वीर्य स्खलन भई वाली र सुगीवको उत्पत्ति भएको भनेर हाम्रा आदिकविले बडो सुन्दर ढङ्घले नेपाली श्लोकमा  बयान गर्नु भएको पढ्न पाइन्छ । जसमा –

देख्याइन्द्रजिलेर तेहिविचमा तिन्मा वहुत्मन्भयो ।

पक्-याइंद्रजिलेरवी्र्यतगिरी सब्बालदेस्मागयो ।।

तेहीवी्र्यतएक्कुमारर्हुनगयो वाल्मागि–याकोपनि ।।

वलैदेखिभयो भनीकनरह्योनाम्वालिवीर्भोभनी ।।

मालाकांचनिपुत्रजानिबढिया एक्इन्द्रजीलेदिया ।।

बाबुकोकरुणाबुझेरखुशि भै त्योवालिबिर्लेलिया ।।

तेस्विच्मा तहिंसूर्य आयरनज र्लायातसैस्त्रीमहाँ ।।

सूर्यैकोपनीवीर्यपातहुनगयो ग्रीवाविषपोतहाँ ।।

तेहीविज्पनि वेस्कुमार्जववन्यो ग्रवा विषे एक्जसै ।।

ग्रीवादेखिभयो भनेरतिनकोसूग्रीवनाम्भोतसै ।।

सूर्यैलेपनि पुत्रलाइ वलबान् सहायदिन्छूभनी ।।

विर्मध्येवलवान्थियार हनुमान्ज्यूलाइदीयापनी  ।।

   -भानुभक्तीय रामायण, उत्तरकाण्ड ७१–७४,

यसरी वाली र सुग्रीवको जन्मका सम्बन्धमा अलौकिक वर्णन गरेको पाइन्छ ।  भगवान् ब्रह्माजीले ती वानरको बासस्थानका लागि ऐश्वर्यले सम्पन्न किष्किन्धा नगरको निर्माण गराई दिनुभएको दृष्टान्तले पनि त्यस भन्दा अगाडी वानरहरूको उत्पत्ति तथा अस्तित्व यस पृथ्वीमा रहेको थियो भनेर अन्य पुराण तथा इतिहासहरूमा उल्लेख गरेको यस लेखकले पाउन नसकेकोले यसै दृष्टान्तलाई वानरहरूको उत्पत्ति भएको प्रामाणिक आधार मान्न सकिन्छ । मानव लगायतका जीवहरूको उत्पत्ति (स्वेजन, अण्डज, उद्वीज र जराजयुज)  मध्ये वानरको उत्पत्ति आँशु र वीर्यबाट अथात्  स्वेजन प्रक्रियाबाट शुरु भई, तत्पश्चात हाल योनिज प्रक्रियाबाट भैरहेकोले अन्य जीवको सृष्टि भन्दाफरक भएको हुँदा र फेरी मानवको उत्पत्तिका सम्बन्धमा सनातनी धर्म अनुयायीहरू बाहेकका अन्य अनुयायीले वानरबाट विकास हुँदै मानवमा परिणत भएको भनि छरेको भ्रम समेतको निराकरण हुन पुग्ने विश्वासका साथ वानरको सृष्टि प्रक्रिया यहाँ उल्लेख गरेको छु ।

* सुरेन्द्र प्रसाद सिग्देल लेखक हुनुहुन्छ । उहाँको पाण्डव-गीता पुस्तक प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !