१० पुस २०८१, बुधबार

आदिवासी जनजातिको खाद्य उत्सव


Nepalpatra

कनकाई, १५ जेठ । मुलुकलाई समृद्ध बनाउन सबै जातजातिका मानिसहरु एकजुट हुनुपर्ने भन्दै झापाको कनकाईमा आदिवासी जनजाति समुदायले एकताको अभियान चलाएका छन् । जिल्लामा रहेका विभिन्न सात जातीय समुदायले आ–आफ्नो संस्कृति झल्कने पहिरनका साथमा सांस्कृतिक झाँकीसहितको ‘फुड फेस्टिबल’ कार्यक्रम सम्पन्न गरेर एकताको अभियान सञ्चालन गरेका हुन् ।

नेपालीको एकता र संस्कारको पहिचान देखिएको कार्यक्रममा राजवंशी, शेर्पा, राई, मगर, तामाङ, थारू र नेवार समुदायले आआफ्नो परम्परा अनुसारका खानाका परिकारसहितको बेग्लाबेग्लै स्टल राखेर कार्यक्रममा सहभागी सबैलाई निःशुल्क खानेकुरा खुवाएका थिए ।

झापाको कनकाई नगर वडा नं ९ स्थित कोच राजवंशी संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रको भवन निर्माणस्थलमा सम्पन्न भएको कार्यक्रममा राजवंशी समुदायले गाजी मुरी, बेसी रोटी, पिठर भाजीको परिकार बनाएको थियो । त्यस्तै शेर्पा जातिको खाप्चे, राईको किनीमा, वाचासी, थोक्ला रहेको थियो भने मगरको सुकुटी, थुक्पा, तोङ्बालगायतको परिकार रहेको बताइएको छ । तामाङ जातिको खाप्से, आइरकलगायत रहेकामा थारू जातिको घुँगी, आलुको तरुवा, बगयाँलगायतका परिकार राखिएको थियो । नेवार समुदायले बारा, अण्डा, सिद्रा, समाइबजी, छोइलाकचेला, सेलरोटीलगायतका परिकारले सहभागीलाई स्वागत गरेको आदिवासी जनजाति महासङ्घ कनकाई नगरका अध्यक्ष धर्मलाल राजवंशीले बताउनुभयो ।

महासङ्घ वडा समन्वय परिषद्को आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न जातीय समुदायले आ–आफ्नो संस्कृति र संस्कार झल्कने किसिमको पहिरनमा सजिएर सांस्कृतिक नृत्यसहित आफ्नै किसिमको खानाको परिकारले अन्य समुदायलाई स्वागत सम्मान गरेका थिए । स्थानीय जनप्रतिनिधिसहितको सहभागिता रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक जातिले अर्को जातिलाई सम्मान र सम्बोधन गर्दै यो मुलुकलाई संसारकै एउटा साझा फूलबारीका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !