७ मङ्सिर, गौशाला । मिथिलञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व गएराति सम्पन्न भएको छ । कात्तिक पञ्चमीका दिनदेखि शुरु भई १० दिनसम्म चलेको सामा चकेवा पर्व एघारौं दिन अर्थात पूर्णिमाको राति (गएराति) धुमधामका साथ विभिन्न नदी, पोखरी तथा ताल तलैयामा गएर सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन भएको छ ।
दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरी, बुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेलेका छन् ।
कात्तिक पञ्चमीका दिन बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएर सो माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका थिए ।
सोही दिन बेलुका सामा चकेवा सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्ग भरेर सामा चकेवा रङ्गीचङ्गी बनाएर दिदीबहिनीले सोही रातिदेखि सामा चकेवा पर्वको शुरुवात गरेका थिए ।
रङ्गिसकेको सामा चकेवा १० दिनसम्म रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीत नाच गर्दै चेलीबेटीले सामा चकेवा खेलेका थिए ।
दश दिनसम्म सामा चकेवा खेलेर दिदीबहिनीले एघारौँ दिनमा हिजो बिहानै खेल्ने क्रममा टुटेफुटेका सामा चकेवालाई पुनः बनाउने रङ्गरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर सोही सामा चकेवाबाट दाजुभाइको फाँर भराएर तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर सामा चकेवालाई बाजागाजाका साथ गएराति दिदीबहिनीले सामा चकेवा विसर्जन गरेका छन् ।
मिथिलाञ्चलकी हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निकै मन पराउँछन् भने सामा चकेवा पर्वको बेला सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोहीअनुरुप यस पर्वमा टाढाटाढाबाट दिदीबहिनी सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् ।
मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामा चकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निक्कै महत्वपूर्ण मानिन्छ ।
यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यस पर्वलाई मनाउने गर्दछन् । सामा चकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास अनुरुप तराइको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा यो पर्व लोकप्रिय रहेको छ भने हर्ष उल्लासका साथ यी ठाउँमा यो पर्व मनाउने गर्दछन् ।
मिथिलाञ्चलमा छठ पर्वको एकदिन पूर्वदेखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् । यस पर्वमा स–साना नानी बढी उत्साहित रहने गर्दछन् भने बुढी आइमाईले यस पर्वको रमझममा आफूलाई रमाउन खोजेका हुन्छन् ।