१८ बैशाख २०८१, मंगलबार

तीज र पछिल्लो समयमा बढेका विकृति


Teej111

तीज हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । यो पर्व भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ । धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । त्यहाँदेखि नै हिन्दू नारीहरूले हरितालिका तीज मनाउदै आएको बिश्वाश गरिन्छ ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।

आजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन । महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छ, माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहलपहल र सङ्गैका सङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजनहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो ।

पछिल्लो दिनमाचाहिँ चेलीमाइतीबीच सुमधुर सम्बन्ध राख्ने, माइतघर जाने, दुग्धजन्य परिकार खानेभन्दा पनि पार्टी प्यालेसमा भोजभतेर आयोजना गर्ने, अघोषित रूपमा गरगहना, पहिरनमा प्रतिस्पर्धा गर्ने, मासुमाछा र मदिराजन्य तामसी परिकार खाने प्रवृत्ति बढ्दो छ ।

तीजका विकृति

अहिलेको तीज फेसन शो जस्तो देखिएको छ । आफ्ना मान्यजन अगाडि लगाउनै नहुने आङ् नढाक्ने कपडा लगाइन्छ । तीजका गीत पनि परिवारमा बसेर सुन्न नसकिने खालका पाइन्छ । त्यस्तो विकृति समाजमा दिनप्रति दिन बढ्दो छ ।

अको विकृति हो, महिना दिनअगाडिवाट नै महिलाहरुलाई तीज लाग्ने र ठूला-ठूला होटेल, पार्टीप्यालेसमा हजारौं जनालाई दर खुवाउने चलन बढेको छ । यस्ता चलनले तीजको महत्त्व बढाउनेभन्दा पनि धार्मिक महत्त्व घट्दै गएको र सामाजिक विकृति बढिरहेको देख्न सकिन्छ ।

तीज मनाउने क्रममा गीत संगीत सुन्ने र गाउने चलन बढेको छ तर मौलिकता भने हराउंदै गएको पाइन्छ । पछिल्लो समय गीतमा भड्किलो शब्द र नाचगानमा पनि पश्चिमा समाजको प्रभाव बढ्दै गएको भेटिन्छ ।

महिनादिनसम्म दोहोरी गाउने, महँगा कपडा लगाउने, सुनका गहना लगाएर मौलिकता छोड्दै तीज मान्ने चलनले सामाजिक विकृति बढाउने मात्र काम गरेको छ र प्राचीन संस्कृतिलाई जोगाउनेभन्दा पनि तडकभडक बढेको पाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !