७ फाल्गुन २०८२, बिहिबार

वैशाख शुक्ल पञ्चमी : आद्य शङ्कराचार्य जयन्ती मनाइँदै


आद्य शङ्कराचार्य जयन्ती

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने आद्य शङ्कराचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान दिएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ, पीठ एवं गुरूकुलमा आद्य शङ्कराचार्यले पुर्‍याएको योगदानका विषयमा चर्चा गरी मनाइँदै छ । दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरू र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो ।

बुढेसकालसम्म पनि सन्तान नभएपछि शिवगुरू र विशिष्टादेवीले भगवान् शिवको आराधना गरी पुत्र प्राप्त भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । ‘शङ्करं शङ्कराचार्यम् अर्थात् भगवान् शिव नै लुप्तप्रायः अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरूत्थानका लागि आद्य शङ्कराचार्यका रूपमा जन्म लिएको भन्ने विश्वास छ ।

वेदान्त विषयका प्रा.डा. दीर्घराज घिमिरे कुमारिल भट्टले सुरू गरेको वैदिक सनातन धर्मको पुनःस्थापनामा आद्य शङ्कराचार्यको महत्त्वपूर्ण योगदान रहेको बताए । १६ वर्षको मात्र आयु लिएर जन्मिएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीतालगायत ग्रन्थको व्यापक विवेचनसहित भाष्य गरेका थिए ।

भगवान् शङ्करले नै अर्को १६ वर्ष आयु थपिदिएपछि भाष्य गरिएका ग्रन्थलगायत वैदिक सनातन धर्मका बारेमा भारतवर्षका कुनाकुनामा व्याख्या गर्दै हिँडेका पनि घिमिरेले बताए । यसै क्रममा उनले वैदिक सनातन धर्म संरक्षणका लागि भारतवर्षको चार ठाउँमा चारवटा मठ स्थापना गरे ।

उनले स्थापना गरेका चार मठमा श्रृङ्गेरी, गोवर्द्धन, शारदा र ज्योतिर्मठ छन् । यी मठले क्रमशः यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् । प्राचीनकालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म लुप्तप्रायः बनेको थियो ।

आद्य शङ्कराचार्यले पुनःस्थापना गरेकैले आजको स्वरूपमा आइपुगेकाले उनको योगदानको चर्चा गरी प्रत्येक वर्ष जन्मजयन्ती मनाइन्छ । यस अवसरमा प्रत्येक वर्ष पशुपतिस्थित शङ्कराचार्य मठमा पनि कार्यक्रम गर्ने गरिएको छ । यसैगरी देशभरका मठ, पीठ र गुरूकुलमा पनि उहाँले पुर्याउनुभएको योगदानका विषयमा चर्चा गरिने जनाइएको छ ।

रामानुजाचार्य जयन्ती पनि आजै

प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने जगद्गुरू रामानुजाचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक थिए । उनी श्रीवैष्णव थिए ।

उनको भक्ति परम्परामा धेरै प्रभाव रहेको छ । वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यको शिष्य परम्परामा नै रामानन्द भएका हुन् जसका शिष्य सन्त कबीर र सूरदास थिए । तद्अतिरिक्त कुलशेखर आलवार रामानुजका एक महत्त्वपूर्ण शिष्य थिए । रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेखेका थिए ।

सन् १०१७ मा दक्षिण भारतको तमिलनाडु राज्यको पेरम्बदुरू भन्ने ठाउँको तिरूकुदुरू भन्ने गाउँमा उनको जन्म भएको थियो । उनी विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्मअन्तर्गत श्रीसम्प्रदायका आचार्य थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !