
भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह । आ–आफ्नो टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत बिहानै जात्राको भीडमा सिन्दुर खेल्दै रमाउँदै मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् ।
बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर यो जात्रा मनाए । उनीहरूले बालकुमारी मन्दिर प्राङ्गणा २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेले ।
थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । तर केही वर्षयता भने २६ खट मात्र जात्रामा सहभागी हुने गरेका छन् ।
यो जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । सोमबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।
जात्रा सुरु भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवीदेवताको खट ल्याएर यो जात्रा मनाइएको छ ।
थिमिमा ३२ देवीदेवताका खट सहभागी रथ बोकेर टोलटोल परिक्रमा गराई परम्परागत रूपमा मनाउँदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमाा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको छ । यसमा थिमिको बालकुमारी, दक्षिणवाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलवाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै मनाइन्छ ।
जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई केही वर्षयता सिन्दुर जात्रा पनि भन्न थालिएको छ ।
बिहानै सुरु भएको यो जात्रा मध्याह्नसम्म चल्ने छभने त्यसपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने गरिन्छ ।