३१ चैत्र २०८१, आइतबार

चैते दसैँमा बागलुङ कालिका मन्दिरमा पर्यटक बढे


बागलुङ कालिका मन्दिर

गलकोट, बागलुङ । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् ।

चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरमा अहिल भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

“चैते दसैँको तेस्रो दिनसम्म दैनिक हजारौँको सङ्ख्यामा भक्तजन आउनुभएको छ, यसपटक पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ”, खड्काले भने , “यही अवसरमा चैत २० गतेदेखि यहाँ मेलासमेत आयोजना गरिएको छ, भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।”

मेला आयोजनाका लागि रु ५५ लाख खर्चको अनुमान गरिएको छ । मन्दिरमा छिमेकी मुलुक भारतबाटसमेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।

मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उनले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई स्टल निःशुल्क उपलब्ध गराइएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !