७ फाल्गुन २०८२, बिहिबार

धार्मिक स्थलको दर्शन मानसिक र शारीरिक स्वास्थ्यको लागि प्रभावकारी


धार्मिक स्थलको दर्शन मानसिक र शारीरिक स्वास्थ्यको लागि प्रभावकारी

नवलपरासी । गत मंसिर १३ गतेदेखि सुरु भएको धार्मिक स्थलको भ्रमण मुक्तिनाथको दर्शनको अनुभवले आस्था, प्रकृति, र इतिहासको अनौठो संगमलाई उजागर गरेको छ ।

मुक्तिनाथ, जुन वैष्णव र बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र स्थल मानिन्छ । यो मन्दिर १०८ धारा र अग्नि जलको स्रोतका लागि प्रसिद्ध छ, जसले मोक्ष प्राप्तिको प्रतीक मान्ने गरिएको छ ।

त्यसपछि बेनी, म्याग्दीस्थित तातोपानी पुगियो, जहाँ प्राकृतिक तातो पानीको मुहानले थकान हटाउन मात्र होइन, स्वास्थ्य लाभको अनुभूति पनि गरायो । चाहे जेहोस प्राकृतिक स्रोत भएको हाम्रो देश धेरै पछाडि रहेको अनुभव भयो ।

हामीले तातोपानी बारे केही जान्न खोज्दा तातो कुण्डमा नुहाउदा बाथ छालाका रोगहरू ठिक भएको जानकारी हामीलाई प्राप्त भएको थियो । त्यहाँको पानीमा हामीले नुहाउदा सल्फर र अन्य जडिबुटीको गन्ध महसुस गरेका थियौँ ।

त्यसपछि, बागलुङको प्रसिद्ध कालिका मन्दिरको दर्शन गर्ने अवसर पायौं । यो मन्दिर त्रिभुवन कालमा निर्मित ऐतिहासिक सम्पदा हो, जसले हरेक भक्तजनलाई अद्भुत ऊर्जा प्रदान गर्छ ।

हाम्रो यात्राको अर्को विशेष भाग थियो पाल्पाको रिडी, जुन पाल्पा, गुल्मी, र स्याङ्जा जिल्लाको सङ्गमस्थल हो । यहाँ एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुल निर्माण गरिएको छ, जसले हाम्रो इन्जिनियरिङ क्षमतालाई संसारसामु चिनाएको छ ।

अन्त्यमा, पाल्पाको प्रसिद्ध ऐतिहासिक रानीमहल पुगेका थियौं, जसलाई “नेपालको ताजमहल” पनि भनिन्छ । यो महल १८९३ मा खडक शमशेर राणाले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा निर्माण गराएका थिए । काली गण्डकी नदिको संगम स्थल किनारमा रहेको यो महलले प्रेम र समर्पणको अनन्त कथा बोकेको हामीले पायौं ।

यस अद्भुत यात्राले हाम्रो धर्म, संस्कृति, इतिहास र प्रकृतिको अनुपम सौन्दर्यको झल्को दिएको थियो । यस्ता इतिहास बोकेका स्थानहरुको भ्रमण गरेर नयाँ अनुभवले जीवनभरी ताजा रहने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !