८ बैशाख २०८१, शनिबार

काठमाडौँको गुह्येश्वरी र कमलपोखरीमा छठ घाट निर्माण गरिँदै


छठको तयारी

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा छठ घाट निर्माण गरी सूर्य आराधना एवं उपासनाको तयारी भएको छ । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट निर्माण भइरहेको छ ।

गुह्येश्वरीमा भक्तजनले २०४६ सालदेखि नै छठ मनाउन थालेका थिए । यसलाई विसं २०६२ मा छठ पूजा समिति गुह्येश्वरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी औपचारिकता दिइएको अध्यक्ष अनिल सिंह बताए ।

विसं २०६२ अघि नै गुह्येश्वरी क्षेत्रमा स्वतस्फूर्तरुपमा छठ पर्व मनाइन्थ्यो । समितिले वैधानिकता पाएदेखि नै पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा यस क्षेत्रको छठ पर्व मनाउने गरिएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगसमेत पछिल्लो वर्षदेखि छठ पूजा समितिले सहकार्य सुरु गरेको छ । वाग्मती नदी सफाइका लागि अधिकार सम्पन्न वाग्मती समितिले डोजरलगायत उपकरण सहयोग गर्ने गरेको छ ।

छठका लागि कोषले पनि आर्थिक सहयोग गर्ने गरेको छ । विगत वर्षमा कोषले रु छ लाख २५ हजार सहयोग गरेकामा यस वर्ष रु तीन लाखमात्र दिने निर्णय गरेकाले व्यवस्थापनमा कठिनाइ आउने देखिएको उहाँले गुनासो गर्नुभयो । गुह्येश्वरीमा छठ पर्व व्यवस्थापनका लागि रु १८ लाखसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

गुह्येश्वरीमा पाँच सय जना बर्तालुले पूजा आराधना गर्न सक्नेगरी छठ घाट निर्माण भइरहेको छ । गुह्येश्वरी क्षेत्रमा बर्तालुलाई सहयोग गर्ने र परबाटै दर्शन गर्ने गरी तीन लाखदेखि पाँच लाखसम्म मान्छे आउने अनुमान समितिले गरेको छ ।

छठको विधि सुरु हुने दिन आज गुह्येश्वरी क्षेत्रमा छठ घाट एवं वाग्मती नदी सफाइ गरिएको छ । छठ घाटमा पाल, टेण्ट राख्ने काम पनि भइरहेको छ । एउटा घाट रु एक हजार पाँच सय शुल्क लिएर भक्तजनका लागि बुकिङ भइरहेको छ ।

आकर्षकरुपमा सजाइएको गुह्येश्वरी क्षेत्रको वाग्मती नदीबीचमा छठीमाईको मूर्ति बनाएर राखिने भएको छ । काठमाडौँ उपत्यकाका २८ स्थानमा छठ पूजा गर्ने गरी तयारी भएको छ । २०६२ सालसम्म अधिकांश तराईवासीले मनाउने गरेको छठमा हाल पहाडी समुदाय पनि सहभागी हुन थालेको समितिका सचिव राजकुमार पोद्दारले बताए ।

छठ पर्वमा हिन्दूमात्र नभई मुसलमान पनि सहभागी हुने गरेका छन् । छठ मनाउन आउनेलाई कुनै पनि किसिमको भेदभाव नगरी समानरुपमा अवसर दिने गरेको उहाँले सुनाए । यसरी छठ पर्व सबैको बन्न पुगेको छ ।

कमलपोखरीमा निःशुल्क छठ घाट

कमलपोखरी छठ पूजा समाजले भने छठ घाट बनाएर भक्तजनलाई निःशुल्क उपलब्ध गराउने भएको छ । समाजका अध्यक्ष राजेन्द्र सिंह कमलपोखरीमा एक सय ७५ वटा छठ घाट बनाउने तयारी गरेको बताउनुहुन्छ । यी सबै छठ घाट बर्तालुलाई निःशुल्क दिने तयारी गरिएको छ ।

कमलपोखरीको चारैतिर टेन्ट राखेर भक्तजनलाई सहजरुपमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था गर्न लागिएको छ । टेन्टसँगै कमलपोखरीलाई झिलीमिली बत्तीले ढाकेर सजाइने भएको छ । यस वर्ष कमलपोखरीमा छठी माईको माटाको मूर्ति अनावरण गरिने भएको छ । मूर्तिलाई छठ पूजा सकिएपछि नदी, ताल, तलाउलगायत पवित्रस्थलमा लगी सेलाउने विधि रहेको छ ।

कमलपोखरीमा यस वर्ष छठमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत आउनुहुने कार्यक्रम रहेको छ । कात्तिक १३ गते बेलुकी आइतबार अस्ताउँदो र कात्तिक १४ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दान गरी भव्यरुपमा छठ पर्व मनाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !