१२ आश्विन २०८१, शनिबार

आज हरितालिका तीज पर्व : शिवालयमा व्रतालुहरूको भीड, महिलालाई बिदा


तीज

काठमाडौं । आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली हिन्दू नारीहरूले निराहार व्रत बस्दै देवादिदेव महादेवको पूजाआराधना गरी तीज पर्व हर्षल्लासका मनाउँदैछन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाउने यो पर्वमा व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहँदै आएको छ ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजैको दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।

महादेव स्वामी पाउने पार्वतीको इच्छा विपरीत पिता हिमालयले उनको विवाह विष्णुसँग गरिदिन खोजेपछि सखीहरुलाई समस्या सुनाउँदा उनलाई हरण गरी लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख पाइन्छ । सखीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी भाद्र शुक्ल तृतीयाको दिन महादेवलाई प्राप्त गरेको र त्यही समयदेखि हरितालिका तीजको व्रत बस्ने प्रचलन सुरु भएको धार्मिक मान्यता छ ।

निराहार, जलाहार र फलाहार गरी तीन तरिकाले व्रत बस्न सकिन्छ । सक्नेले निराहार, नसक्नेले जलाहार तथा फलाहार व्रत गर्नु उत्तम हुने बताइन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सक्ने धार्मिक मान्यता छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

तीजको अवसरमा अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस् भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् ।

श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको धर्मशास्त्रीहरुको मत रहेको छ । अटल सौभाग्यको कामनाका लागि व्रत बस्ने गर्छन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरु बताउँछन् ।

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।

आज काठमाडौंको पशुपतिनाथ, खोटाङको हलेसी महादेवलगायत देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड लाग्ने गर्दछ । तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !