२३ पुस २०८१, मंगलबार

चिया दिवसमा भोजपुरको चिया


tea

१६ वैशाख, काठमाण्डौ । राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्थाले एक कार्यक्रम गरी चिया दिवस मनायो ।

कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको र हालसम्म ३५० शेयर सदस्य भइसकेको तथा ५०० सदस्य पुर्याउने लक्ष्य रहेको जानकारी दिए ।

पूर्व प्रजिअ समेत रहेका राईले संस्थाले हाल भोजपुरमा १० वटा बगानमा चिया खेती शुरु गरेको र चिराइतो, लोठसल्लाजस्ता बहुमूल्य जडीबुटीको समेत खेती गर्ने योजना रहेको बताए ।

उनले संस्थाले भोजपुरका थामडाँडा, टेम्केदेखि सिलिचुङ डाँडासम्मका पर्ती तथा बाँझो रहेका जमिनमा कृषकबाट जग्गा लिजमा लिई उनीहरुलाई समेत सहभागी गराई चिया तथा जडीबुटी खेतीमार्फत किसानको जीवनस्तर उकास्न प्रयास गरिरहेको बताए ।

यसै सन्दर्भमा हालसम्म संस्थाले एक हजार रोपनी जग्गा प्राप्त गरिसकेको उनले बताए । संस्थाबाट उत्पादित चिया प्रशोधन गर्न डेनिस सरकारको उन्नति कार्यक्रममार्फत रु ८५ लाखको लागतमा भोजपुरको कटुञ्जेस्थित बतासे मुलाबारीमा चिया प्रशोधन कारखाना निर्माण भइसकेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा समाजसेवी हिमाल राई, शिक्षक देवी घिमिरे, कृष्ण तिम्सिना, भक्तबहादुर राई, गणेश दाहाललगायतले संस्थामार्फत चिया खेती विस्तार गर्न हरसम्भव सहयोग गर्ने वचनबद्धता प्रकट गरे ।
सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत २१ जनालाई सल्लाहकारमा मनोनयन गरिएको जानकारी दिइयो ।

कार्यक्रममा नयाँ शेयर सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने चिया दिवस परेको सन्दर्भमा भोजपुरस्थित संस्थाका बगानमा उत्पादित चिया उपस्थित आगन्तुकलाई प्रथम पटक खुवाइएको थियो । भोजपुरका बतासे, लहरेमाने लगायत स्थानमा चिया रोपिएको तीनबर्ष पुगेपछि यसपटक चियापत्ती टिप्न लायक भएकाले प्रशोधित गर्नुपर्ने अवस्था भएको हो ।

संस्थाका व्यवस्थापन संयोजक लक्ष्मीप्रसाद घिमिरेले संस्थाका कार्यक्रमबारे जानकारी दिएका थिए संस्थाका गतिविधिबारेको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !