२८ चैत्र २०८१, बिहीबार

आज तराई मधेशका जिल्लाहरुमा हाेली पर्व मनाइँदै


हाेली पर्व

बिराटनगर । आज तराई मधेशका जिल्लाहरुमा फागु अर्थात होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ । होली पर्वको अवसरमा तराई मधेश प्रदेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । यद्यपि मिथिला क्षेत्र अन्तर्गत जनकपुरधाममा भने भोलि शनिबार होली मनाइने छ ।

हिजो फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा अर्थात् होली पर्व आइतबार काठमाडौँ उपत्यकासहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइएको छ ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने प्रचलन छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ ।

समानता र निष्छलताको पर्व होली आपसमा रंग दलेर खुशी साटासाट गरी मनाइने हुँदा आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो ।

फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो ।

दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाईने गरिन्छ । त्यो बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

नेपालमा प्राचीन समयमा मनाईने बसन्त उत्सव र मदन उत्सव मध्ये पहाडी समुदायले मौसम परिवर्तनको रुपमा वसन्त उत्सवलाई मानेर होली मनाउने गर्छन् । तराईमा भनें महिला र पुरुषको बीचमा आत्मियता प्रदर्शन हुने मदन उत्सवको रुपमा भोलिपल्ट होली मनाईन्छ ।

होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । बिशेषगरी पूर्वि तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विभिन्न जातजातीहरु लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरु आज यो रङ्गिन चाड मनाउँदैछन् ।

पश्चिम नेपालकाे तराईहरुमा भने माटोले होली खेल्ने चलन पनि छ, बहुतै सदभावका साथ सुख्खा या भिजेको माटोको सुस्त लेप एकअर्कामा लगाएर होली प्रारम्भ गरिन्छ ।

जवरजस्ती रंग छ्याप्ने, लोला हान्ने कार्यलाई रोक्न प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । ट्राफिक चेकजाचलाई पनि कडाइ गरेको छ । सम्भावित दुर्घटनालाई न्युनिकरण गर्न प्रहरीले चेकजाच कडा पारेको जनाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !