७ जेष्ठ २०८१, सोमबार

‘संस्कार र संस्कृति संरक्षण गर्नुपर्छ’


कृष्णकुमार (किसान) श्रेष्ठ

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल संवत् ११४२ को अवसरमा नेवाः देय दबु गुठी समन्वय समितिद्वारा आज दमौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कार र संस्कृति संरक्षण गर्नु अपरिहार्य रहेको उल्लेख गरे ।

नेवार समुदायभित्रै संस्कृति हराउँदै जान थालेको भन्दै मन्त्री श्रेष्ठले भने, “अहिलेका पुस्ताले भावी पुस्तालाई नेवार जातिको संस्कृति, संस्कार सिकाउँदै जानुपर्छ । तब मात्र संस्कृतिको संरक्षण हुन्छ ।” उनले सबै जातजातिको भाषा, संस्कृति संरक्षण गर्ने दायित्व सरकारको भएको बताए । नेपाल संवत्को अवसरमा सबै जातजातिबीच सद्भाव कायम गर्न प्रेरणा मिल्नुपर्ने उनको भनाइ थियो ।

उनले कोरोनाबाट रोजगार गुमाएका बेरोजगार युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि कार्यक्रम बनाइने जनाउँदै भने, “बेरोजगारलाई रोजगारी सिर्जना गर्न चुनौती छ, त्यो चुनौतीलाई चिर्दै अगाडि बढ्छु ।”

कार्यक्रममा गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोवाटे विकले जिल्लाको विकास निर्माणमा तीन तहको सरकारको हातेमालो रहने बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक सद्भाव कायम गर्न नेपाल संवत्बाट प्रेरणा लिनुपर्नेमा जोड दिए ।

पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठले नेवारको संस्कृति नेपालको सम्पत्ति भएकाले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । नेवाः दवुका केन्द्रीय उपाध्यक्ष शङ्करनारायण श्रेष्ठले नेपाल संवत्लाई व्यवहारिक बनाउन सरकारसँग आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !