सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति आज मन्दिरमा राखिने Nepalpatra सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति आज मन्दिरमा राखिने
५ असार २०७८, शनिबार

सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति आज मन्दिरमा राखिने


सेतो मच्छेन्द्रनाथ

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्याइन्छ ।

जात्राको तेस्रो दिन बिहीबार लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो । चौथो दिन शुक्रबार भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ ।

शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौथो दिन अन्त्य गरिन्छ । पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरिन्छ । यसपछि पाँच दिन लामो जात्रा समापन हुन्छ ।

यस वर्ष कोरोनाको नयाँ भेरियन्टसहितको जोखिम बढ्न थालेकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिका सचिव सुजीव बज्राचार्यले बताए ।

बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरी सावधानीसाथ चार दिने जात्रा सम्पन्न गरिएको उहाँले बताए ।

स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरियो जात्रा

जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको थियो । जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको हो । जसले गर्दा रथयात्रा सुरक्षितरुपमा सम्पन्न गर्न सकिएको हो ।

वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घ संस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी गर्ने निर्णय गरेको समितिका संयोजक एवं महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

एकदिन रथ तानेका युवाले अर्को दिन नतान्ने गरी व्यवस्था मिलाइएको थियो । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको पनि समितिले जनाएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ ।

कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो । यो नमूना उपत्यकाका अन्य स्थानमा हुने जात्राका लागि पनि काम लाग्ने आशा गरिएको छ ।

रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गरेको शाखा काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदीले बताउनुभयो । बत्तीस हात लामो रथ निर्माणको व्यवस्थापनसमेत संस्थानले नै गर्ने गरेको छ ।

पहिलो दिन रथ असन लगी पूजा आराधना सकिएपछि असनमा मङ्गलबार राति ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको थियो । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।

गत वर्ष रथयात्रा हुन नसकेकामा क्षमा पूजा

गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो । रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पुजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको महानगरपालिका–२५ का अध्यक्षसमेत रहेका समिति संयोजक शाक्यले बताए ।

सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न सकिने गरी सम्पन्न गरेर उपत्यकाका अन्य जात्रा एवं मेलालाई पनि सहजरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गर्न सकिन्छ भन्ने देखाउन खोजिएको जनाइएको छ । यसका लागि सरोकार भएका सबै निकायलाई समन्वय गरेर काम गरिएको समिति सचिव बज्राचार्यले सुनाए ।

रथयात्रा चलाउने मार्गमा एक घण्टा अघि नै माइकिङ गरेर सुरक्षितरुपमा जात्रा हेर्न आम मानिसलाई आह्वान गरिएको छ । जात्रामा सहभागी हुनुअघि र भइसकेपछि पनि साबुनपानीले हात धुन पनि समितिले अनुरोध गरेको थियो । यसका लागि रथयात्रा शुरु र अन्त्य गरिने स्थानमा प्रत्येक दिन साबुनपानीको व्यवस्था गरिएको थियो ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक साँझ रथ पुगेका स्थानमा स्थानीयवासीले १०८ दीप प्रज्ज्वलन गरी आर्यावलोकितेश्वर करुणामयको आरधना गर्छन् । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । जात्राले उपत्यकाको भित्री भागका स्थानीयवासीमा रोग व्याध नलाग्ने जन विश्वास समेत रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !