१२ असार २०८१, बुधबार

तामाङ समुदायको सोनाम ल्होसार मनाइयो


सोनाम ल्होसार

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएका छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु भएको छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष शुरु भएको हो ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशु पछीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको संस्कृतिविद् बताउँछन् । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस पर्वका अवसरमा सरकारले शुक्रबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

तामाङ जातिको मौलिक वेषभूषा, सांस्कृतिक गतिविधि, खानालगायत प्रदर्शनसमेत गरिने ल्होसारमा धेरै पर्यटक आकर्षित गराउन साताव्यापीरुपमा कार्यक्रम आयोजना गरिएको छ । कोरोना महामारीका कारण यस वर्ष टुँडिखेलमा कुनै कार्यक्रम भएन ।

यस अवसरमा बौद्ध क्षेत्रमा तामाङ जातिको सांस्कृतिक वेषभूषा एवं पहिचानसहितको ¥याली प्रदर्शन गरियो । बौद्ध स्तुपबाट शुरु भएको जोरपाटी टुसाल हुँदै पुनःबौद्धमै आएर समापन गरिएको थियो । कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिसहित यस क्षेत्रका सङ्घ संस्थाको सहभागिता थियो ।

¥यालीपछि महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा ल्होसारको महत्वका विषयमा जानकारीसहित गीत सङ्गीत प्रस्तुत गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिनुभयो ।

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइएको छ । यसैगरी देशका विभिन्न भागमा पनि विविध कार्यक्रम आयोजना गरी पर्व मनाइयो । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृति लगायतको प्रदर्शन भइरहेकोे छ ।

चुच्चेपाटीस्थित हायात चौरमा विशेष सांस्कृतिक कार्यक्रमसहित ल्होसार उत्सव आयोजना भएको छ । तामाङ बाहुल्यता रहेको बौद्ध, स्वयम्भूलगायत स्थानमा परम्परागत वेषभूषामा सजिएर युवा युवतीसमेत रमाइरहेको देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !