१९ पुस २०८१, शुक्रबार

राजदूत खतिवडाले भने- संविधानले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको छ


डा. युवराज खतिवडा

वासिङ्टन डिसी । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताएका छन् ।

संविधान दिवसको उपलक्ष्यमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै खतिवडाले नेपालको संविधानले समानता, सामाजिक न्याय र विविधताबीचको एकतालाई आफ्नो मुलभूत सिद्धान्त मानेको समेत उल्लेख गरे ।

अमेरिकी सरकारका प्रतिनिधीसमेत उपस्थित रहेका कार्यक्रममा राजदूत खतिवडाले अमेरिकी सरकारले मानवीय सहायता र विकासको साझेदारका रूपमा महत्वपूर्ण र उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकामा धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा अमेरिकी सरकारको तर्फबट दक्षिण एसिया मामिलाका कार्यवाहक सहायक मन्त्री डिन थम्पसनले नेपाल र अमेरिकाबीच लामो मैत्रीपूर्ण सम्बन्ध कायम रहेको बताउँदै नेपालको प्रजातान्त्रिकीकरण र समृद्धिका लागि अमेरिकाले सदैव सहयोग गर्ने बताए ।

कार्यक्रममा डिसीमा रहेका कूटनीतिक नियोगका प्रतिनिधि, अमेरिकी सरकारका अधिकारी लगायत नेपाली समुदायका प्रतिनिधि, सञ्चारकर्मी समेतको उपस्थिति थियो । कोरोना महामारीका कारण दूतावासले छोटो र संक्षिप्त कार्यक्रम आयोजना गरिएको जानकारी दिएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । यसअघि राजदूत खतिवडाले दूतावास परिसरमा नेपालको झण्डोतोलन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु