१२ आश्विन २०८१, शनिबार

लकडाउनको स्वरूप र विदेशमा रहेका नेपाली ल्याउनेबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक जारी


मन्त्रिपरिषद् बैठक

काठमाडौं, जेठ १७ । लकडाउनको स्वरूप र विदेशबाट नेपालीहरूको उद्दार लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए । यसअघि बालुवाटारमै राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बसेको थियो।

आजको बैठकमा उच्चस्तरीय समितिले हिजो गरेका निर्णय प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । लकडाउनको स्वरूप परिवर्तन गर्ने विषयमा आज निर्णय हुनसक्ने बताइएको छ । त्यस्तै आजको बैठकमा विदेशमा अलपत्र रहेका नेपालीहरुको उद्धार गरेर स्वदेश ल्याउने विषयमा पनि छलफल हुनेछ । सरकारले प्राथमिकता र समस्या परेका नेपालीहरूको उद्धार गरिने बताइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले भारत लगायतका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई कसरी ल्याउने भन्नेबारे निर्णय गर्ने बताइएको छ । यसअघि हिजो बसेको कोरोना समितिको बैठकले ७ देखि १० दिनभित्र नेपाली ल्याउने तयारी गर्ने योजना बनाएको थियो । समितिले दैनिक रूपमा दैनिक ३ हजारदेखि ३५ सयसम्म नेपाली ल्याउन सकिने निष्कर्ष निकालेको थियो। त्यस्तै, भारतबाट फर्किनेका लागि पनि विभिन्न नाकाहरू तोकेको थियो ।

संसदीय समितिका बैठकमा पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २५ हजार नेपालीहरूको उद्धार गर्ने तयारी भइरहेको बताएका थिए। ११ चैत देखि सरकारले लकडाउन लागू गरेको हो । पछिल्लोपटक थपिएको लकडाउनको समय जेठ २० गते सकिदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !