११ आश्विन २०८१, शुक्रबार

भारतको हेपाहा प्रवृत्ति – साझा पार्टी


काठमाडौँ, वैशाख २७ । साझा पार्टीले भारतको हेपाहा प्रवृत्तिको भर्त्सना गरेको छ । उक्त पार्टीका सह-प्रवक्ता सरदराज पाठकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोबारे साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

साथै धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेकोमा साझा पार्टी कडा भत्सर्ना गरेको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, ”भारत सरकारको लगातारका यस्ता कदम अन्तराष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले दोहोर्याउँदै आएको छ । यो स्पष्टत: भारतले बारम्बार देखाउँदै आएको हेपाहा प्रवृत्तिको अर्को नमूना हो।”

साथै उक्त पार्टीले भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद हुन नसक्नु दुखद् रहेको बताएको छ ।

भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो ‍कुटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार पनि बताइएको छ । आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनु अत्यन्तै विडम्वनापूर्ण स्थिति उनले बताएका छन् ।

भारतले सबै अतिक्रमित भूमि छोडेर जानुपर्छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नु पर्छ, पछिल्लो समय उसले जारी गरेको नयाँ नक्सा सच्याउनु पर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नु पर्छ भन्ने साझा पार्टीको धारणा रहेको पनि साझा पार्टीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !