९ मंसिर २०८१, आइतबार

सचिवालय बैठकमा प्रचण्ड, नेपाल र खनालसहितले मागे प्रधानमन्त्री ओलीको राजीनामा


नेकपा सचिवालय बैठक

बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको पार्टीको सचिवालय बैठकको सुरुमै अर्का अध्यक्ष प्रचण्डलाई आफ्ना धारणा राख्न आग्रह गरेका थिए । केन्द्रीय समिति बैठकले ऊर्जा भरेको पार्टीलाई सरकारको कदमले पछाडि धकेलेको र परिस्थिति जटिल हुँदै गएकाले प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने धारणा उनले राखेका थिए ।

सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको भनाइ थियो, ‘सरकारको कदम र तपाईंको कार्यशैलीले पार्टी फुटको दिशातिर गएको छ । अध्यादेश ल्याएर बबन्डर गर्नुभयो । पार्टी र देशका लागि पनि तपाईंले प्रधानमन्त्री पदबाट राजीनामा दिनु नै सबैभन्दा उपयुक्त हुन्छ ।’

प्रचण्डपछि बोलेका वरिष्ठ नेता नेपालले पार्टी, सरकार र प्रधानमन्त्री आफैँको पनि प्रतिष्ठा धुमिल भएकाले राजीनामा दिएर निकास दिनुपर्ने प्रस्ताव गरे । ‘हेर्नुस्, सुन्दा नमिठो लाग्ला । प्रधानमन्त्रीका रूपमा तपाईंको प्रतिष्ठा घटेको छ । तपाईं त होइन भन्नुहोला, सरकारको पनि प्रतिष्ठा कहाँ पुग्यो कहाँ । अब सरकारको नेतृत्वको निरन्तरता तपाईंबाट सम्भव नै छैन । तपाईं सक्नुहुन्न । पार्टी, जनता र सबै परिवेश बुझेर राजीनामा दिँदा नै तपाईंको, पार्टीको र देशको पनि हित हुन्छ,’ नेता नेपालको भनाइ थियो ।

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीको राजीनामाको प्रसंग स्थायी समिति बैठक बसेर टुंग्याउनुपर्ने बताएका थिए । ‘अब राजीनामा दिनुको विकल्प छैन । स्थायी समितिबाट निर्णय गरौँ,’ खनालको भनाइ थियो । अर्का नेता रामबहादुर थापा बादलले सरकारका कमीकमजोरी भए सच्चाउन सकिने, तर प्रधानमन्त्रीले अहिले राजीनामा दिन नहुने अडान राखे । आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !