७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री ओली विवादास्पद अध्यादेश फिर्ता लिन तयार


केपी शर्मा ओली

११ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री ओली उक्त अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।

आज बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच अध्यादेशबारे छलफल भएको थियो ।

छलफलमा प्रचण्डले नेताहरुको माग वमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । दुई अध्यक्षबीच विकसित घटनाक्रमबारे छलफल भएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने नेता नेपालले बताएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले कानूनविदहरुसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएको स्रोतको भनाइ छ । संविधानको धारा ११४-२ (ख) मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !