१२ आश्विन २०८१, शनिबार

वरिष्ठ नेता पौडेल पक्षद्वारा जिल्ला उपसभापतिको प्रशिक्षण बहिष्कार


रामचन्द्र पौडेल

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभातिका लागि आज आयोजना गरेको प्रशिक्षणमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपस्थित नहुने निर्णय गरेको छ ।

आज बिहान काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षको भेलाले जिल्ला उपसभापतिको प्रशिक्षण कार्यक्रममा सहभागी नहुने निष्कर्ष निकालेको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिनुभयो । प्रतिष्ठानले पार्टीका करिब पाँच लाख क्रियाशील सदस्यलाई जिल्ला कार्यसमितिमार्फत प्रशिक्षण दिने उद्देश्यले सबै जिल्लाका उपसभापतिलाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले १४औँ महाविधेशनको मिति तोकिसकेको अवस्थामा आचारसंहिता, विधिविधान र पार्टीमा स्थापित मान्यता विपरीत एकलौटी रुपमा केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय विभाग प्रमुख मनोनयन गरेको पौडेल पक्षले आरोप लगाएको छ । सभापति देउवाले यही फागुन १७ र १९ गते पार्टीका २० केन्द्रीय विभागमा प्रमुख, दुई केन्द्रीय र ११ आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गर्नुभएको थियो ।

भेलामा उपस्थित केन्द्रीय सदस्य, उपलब्ध जिल्ला सभापति र उपसभापतिहरुको सुझावअनुसार उक्त निर्णय लिइएको केन्द्रीय सदस्य परियारले बताउनुभयो । भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु सिंह, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, बलबहादुर केसी, दीपक गिरिलगायत उपस्थित हुनुहुन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !