२१ पुस २०८१, आइतबार

स्ववियु निर्वाचन प्रकृया रोक्न विद्यार्थी संगठन आन्दोलित


FSU

विभिन्न आठ विद्यार्थी संगठनहरुको संयुक्त गठबन्धनले तत्काल स्ववियु निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न आग्रह गरेको छ । पूर्णसमानुपातिक स्ववियु निर्वाचनको माग गर्दै आएका उनीहरुले तत्काल निर्वाचन प्रक्रिया नरोके सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

समाजवादी विद्यार्थी फोरम, वैद्यनिकट अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, राप्रविसंघ, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, नेपाल विद्यार्थी मञ्च, राष्ट्रवादी विद्यार्थी संघ र संघीय विद्यार्थी युनियनको संयुक्त गठबन्धनले पूर्णसमानुपातिक निर्वाचनको माग गर्दै  निर्वाचनको तयारी भइरहेका क्याम्पसहरुमा तालाबन्दी समेत गरेका छन् ।

गठबन्धनले बुधबार झापाको मेची बहुमुखी क्याम्पस, दमक बहुमुखी क्याम्पसलगायतका क्याम्पसहरुमा तालाबन्दी गरेको छ । त्यस्तै बुधबार नै पोखराको पृथ्वीनारायण क्याम्पस, राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसलगायतमा समाजवादी विद्यार्थी फोरमका विद्यार्थी नेताहरुले तालाबन्दी गरेका छन् ।

स्ववियु निर्वाचन समावेशी हुनुपर्ने आफूहरुको मागका सम्बन्धमा त्रिविले छलफल गर्न नचाहेको भन्दै तालाबन्दीमा उत्रनुपरेको समाजवादी विद्यार्थी फोरमका उपाध्यक्ष सुवास लाबुङले जानकारी बताए ।

उनीहरुले तत्काल चुनाव नरोके अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । – एजेन्सी 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !