९ आश्विन २०८१, बुधबार

किन झस्किए नेताहरू ?, ‘चिहानको हड्डी’ सलबलाएकै हो ?


नेकपा सचिवालय बैठक

१७ भदौं, काठमाडौं । झन्डै दुई तिहाइको सत्तारूढ दलका अध्यक्षद्वय केपी ओली र प्रचण्डका किन एकै समयमा उही खाले अभिव्यक्ति आए ? उनीहरूले भनेजस्तै अहिले संविधान र गणतन्त्रविरुद्ध खतरा देखिएकै हो त ? यतिबेला नेपाली राजनीतिक वृत्तमा चर्चा भइरहेको विषय हो यो ।

नेताहरूले कोठे बैठकमा षड्यन्त्र सुरु भएको बताउन छाडेका छैनन् । सार्वजनिक रूपमा बोल्दा भने उनीहरू व्यवस्थाविरुद्ध कसैले चलखेल गर्न नसक्ने दाबी गर्छन् ।

आजको अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारी लेख्छन्- मूलतः तीन कारणले अहिले व्यवस्थाविरोधी चलखेल सुरु भएको बुझाइमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्ड पुगेका छन्। पहिलो, आफ्नै पार्टीभित्रको एकतामा भएको ढिलाइ, दोस्रो, चुनावका बेला जनतामा बाँडेको जनअपेक्षाअनुसारको काम गराइमा देखिएको विलम्ब र तेस्रो, नेतृत्वमाथिको निरन्तर बढ्दो ‘आक्रमण’ ।

नेकपा प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठ गणतन्त्र खतरामा नपरेको तर्क गर्छन् । ‘गणतन्त्र खतरामा पर्योज भनेर किन बोल्दै हिँड्न परेको हाम्रा वरिष्ठ नेताहरूलाई ? कुनै पनि प्रणाली त्यतिबेला खतरामा पर्छ, जतिबेला हामी राम्रो काम गर्दैनौं। जनताको आकांक्षा पूरा गर्न सक्दैनौं।’ काम भएको अनुभूति जनताले नपाउने हो भने कुनै पनि प्रणाली खतरामै पर्ने उनले बताए । श्रेष्ठले भने, ‘ठूलो संघर्षपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जाऊँ भन्ने मेरो धारणा हो । म अहिल्यै गणतन्त्र खतरामा परेको देख्दिनँ। हामी कामै गर्न नसक्ने, जताततै अलमलमा पर्ने हो भने त्यो सम्भावना बढ्दै जान्छ।’ उनले यतिबेला राजतन्त्रै नआए पनि अन्य शक्तिहरू हाबी हुन सक्ने बताए ।

महासचिव विष्णु पौडेल पनि नेताहरूले समग्र विषयमा कुरा गर्दा यस्ता चलखेल पनि हुन सक्छ है भनेर संकेत मात्र गरेको बताउँछन् । ‘संविधान र व्यवस्थाविरुद्ध खतरा भयो भन्ने नेताहरूको धारणा होइन । चलखेल गर्न सक्छन् भन्ने संकेत मात्र गर्न खोज्नुभएको हो,’ महासचिव पौडेलले अन्नपूर्णसँग भने, ‘नेताहरूले यो विषय त्यति गम्भीर भएर उठाएका हैनन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !