काठमाडौँ, ५ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउने बताउनुभएको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘स्थानीय तहको क्षमता अभिवृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उहाँले भन्नुभयो, “दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अभिमुखीकरणसँग जोडिएर कुनै पनि कार्यक्रम गर्दा प्रादेशिक तथा स्थानीय तह क्षमता विकास कार्यक्रमसँग समन्वय गरेर मात्र काम गर्नुपर्दछ ।”
मन्त्री पण्डितले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिको क्षमता बढाउनका लागि निरन्तर सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले सङ्घीयता कार्यान्वयनको चरणमा शुरु शुरुको बेलामा काममा अप्ठ्यारा भए पनि अहिले भने कानून र कर्मचारी पुगेकाले सजिलो भएको उल्लेख गर्नुभयो ।
उहाँले स्थानीय तहले आफूसँग भएको अधिकार पर्याप्त प्रयोग नगर्दा अहिले काम नदेखिएको भन्दै अधिकार प्रयोग गरी परिमाण ल्याउने गरी काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठले यहाँका स्थानीय तह र विदेशका स्थानीय तहको सेवा सञ्चालनको अभ्यासबारे जानकारी गराउने उद्देश्यले सम्मेलन गरिएको जानकारी दिनुभयो ।
उहाँले सम्मेलनले स्थानीय तहको जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासका लागि भएको नीतिगत व्यवस्था, चुनौती र समाधानका उपायबारे समेत छलफल हुने बताउनुभयो । सम्मेलनमा स्थानीय तहका क्षमता विकास, नीति नियम, चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरिने छ ।
सम्मेलनमा जापान, भारतबाट आएका स्थानीय तहका विज्ञले समेत आफ्नो अनुभव साटसाट गर्ने प्रतिष्ठानका व्यवस्थापक अधिकृत योगमाया सापकोटाले जानकारी दिनुभयो । सम्मेलनमा उपत्यकाका १०० जना जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको छ । (रासस)