भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजकीय भ्रमणको विस्तृत तालिका बुधबार सार्वजनिक गरेको छ । राष्ट्रपतिको राजकीय पाहुनाका रूपमा प्रधानमन्त्री प्रचण्डसहित १५ जना प्रतिनिधिमण्डल राष्ट्रपति भवनमा बस्नेछन् । सरकारी भ्रमण दलका बाँकी ३७ जनालाई भने ताजमानसिंह होटेलमा बस्ने व्यवस्था मिलाइएको छ। आजको नयाँ पत्रिकामा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीसँग पर्शुराम काफ्लेले गरेको कुराकानी छापिएको छ।
**
नेपालका प्रधानमन्त्री प्रचण्डजी भारत आउँदै हुनुहुन्छ । भारतमा उहाँलाई हामी न्यानो स्वागत गर्छौँ । नेपालमा परिस्थिति बदलिइरहेको छ । मुख्य राजनीतिक पार्टी नेपाली कांग्रेस र माओवादी केन्द्रको सरकार छ । मलाई पहिलोपटक यस्तो लागिरहेको छ कि नेपालले कुनै अर्को देशको चिन्ता होइन, केबल आफ्नो चिन्ता गरिरहेको छ । नेपालको राजनीति विगतमा नेपालकेन्द्रित कम, भारत, अमेरिका, चीनकेन्द्रित बढी थियो । अहिले नेपालकेन्द्रित छ ।
प्रचण्डले प्रधानमन्त्री बनेपछि जुन स्ट्यान्ड लिएका छन्, जसबाट यो लागेको छ कि नेपाल सरकार नेपालको चिन्ता गरिरहेको छ । नेपालमा राजनीतिक सहमति हुनेछ । नेपाली जनता आपसी सद्भावमा रहनेछन् । नेपाली जनता आफ्नो खुट्टामा उभिनेछ । यस्तो आदर्श अवस्थामा नेपाल उभिएपछि नेपाल र भारतबीचको सम्बन्ध आफैँ नयाँ उचाइमा जानेछ ।
नेपाल र भारतका पूर्वजदेखि अहिलेका जनतासम्म एउटा कुरामा विश्वास गर्छन्– विगतलाई छाडौँ, भोलिका लागि सोचेर अगाडि बढौँ । अगाडिको बारेमा सोच्नुपर्ने वेला हो यो । भूकम्पपछि नेपालमा त्रासदी भयो, तर जुन हिसाबले काम हुनुपर्ने थियो, भारतसहित विदेशीले दिएको पैसा जसरी सदुपयोग भयो, त्यसरी भएको छैन । युद्धस्तरमा यसमा काम गर्नु जरुरी छ, ताकि गरिब नेपालीको घर चाँडै बनोस् । केदारनाथदेखि भारतका अन्य भागमा आएको आपत्तिपछिको पुनर्वासबाट सिकेर नेपालले यसलाई अघि बढाओस् ।
दोस्रो, नेपालमा भारतीय परियोजना कार्यान्वयनमा गतिरोध छ, चाहे त्यो बिजुलीको काम होस् वा सडक । यो काममा पनि तुरुन्तै समाधान निकालेर गति दिन जरुरी छ । शीघ्रताका साथ कार्यान्वयन हुनुपर्छ । स्थानीय नागरिकको समस्या सुल्झाएर, उनीहरूलाई सम्झाएर योजनाहरू शीघ्र सुरु गर्नुपर्छ ।
तेस्रो, सानातिना विवादका बिन्दु छन् । मलाई परराष्ट्रमन्त्री प्रकाशशरण महतले भन्दै हुनहुन्थ्यो, बाँधदेखि नहरसम्मका समस्या । यी साना कुरा हुन्, तर जनतालई असर गरेको छ । यसमा कुराकानी गरेर समाधान निकाल्नुपर्छ । छलफल गरेर समाधान निकाल्नुपर्छ ।
सुरक्षा चिन्ता
हाम्रो सीमा खुला छ । यो संवेदनशील मामिला हो । नेपाल र भारतको विरोधमा हुने क्रियाकलापबाट दुवै सचेत हुनैपर्छ । सीमा व्यवस्थित गर्नुपर्छ भन्ने विषयमा कुराकानी आएका छन् । यसमा पनि छलफल गर्न हामी तयार छौँ । तर, यो इपिजीले होइन, सरकारको स्तरमा समाधान खोजिनुपर्ने कुरा हो।
धर्मान्तरणमा चासो
नेपालको राष्ट्रियता, संस्कृति, सभ्यता र नेपालको अस्मिताको सम्मान जसले चाहन्छ, ऊ यो मामिलामा गम्भीर हुनैपर्छ । नेपालीहरू यस विषयमा धेरै नै गम्भीर पाएको छु । नेपालीहरू धर्मान्तरणबाट स्वयं चिन्तित छन् र पीडित छन् । हामी पनि शुभचिन्तकका रूपमा चिन्तित छौँ ।
राजनीतिक ट्र्याजिडीपछिको अवस्था
संविधान वा मधेसको सम्बन्धमा वर्तमान सरकारले सकारात्मक कदम उठाएको छ । यसबाट मधेसका जनतामा बढी आशा र अपेक्षा छ । सरकारमा आएलगत्तै प्रचण्डले यसमा अग्रसरता देखाउनुभएको छ । प्रचण्डले यी सबै कुरामा अग्रसरता लिनुुुहुन्छ र समाधान हुन्छ भन्नेमा म पूर्णत विश्वस्त छु ।
विकासकेन्द्रित नेपाल–भारत सम्बन्ध
भारत चाहन्छ कि नेपालको विकासको काम अघि बढोस् । नेपाल आत्मनिर्भर बनोस् भन्नेमा हामी छौँ । यसका लागि भारत सरकारले सहयोग गर्छ । कूटनीतिक स्तरमा परियोजनाबारे चर्चा चलिरहेको छ । यो अब अघि बढ्नेछ र हाम्रो सम्बन्ध पनि यसमै फोकस हुनुपर्छ भन्नेमा मलाई लाग्छ ।