७ बैशाख २०८१, शुक्रबार

चिनियाँ राष्ट्रपतिको भ्रमण पक्का गर्न महरा अचानक चीनतर्फ


krishna-bahadur-mahara

काठमाडौं, भदौ २५ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा शनिबार अचानक चीनतर्फ लाग्नुभएको छ । तिब्बतमा हुने एक कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको सरकारले जनाएको छ ।

तर असोजको पहिलो हप्ता हुने भनिएको चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण स्थगित भएको भन्ने खबर सार्वजनिक भएपछि भ्रमण सुनिश्चित गर्न उहाँ चीन जानुभएको हो । ‘तिब्बतमा हुने कार्यक्रमा त सहभागी हुनुहुन्छ नै, त्योभन्दा मुख्य कुरा त्यहाँका राष्ट्रपतिलाई जसरी पनि नेपाल ल्याउनको लागि आवश्यक वातावरण बनाउन उहाँ शनिबार बिहान त्यसतर्फ लाग्नुभएको हो’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

त्यसो त पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन हुने बित्तिकै महरा सरकारको विशेष दूतका रुपमा चीन जानुभएको थियो । त्योबेला चिनियाँ राष्ट्रपतिले असोजको अन्तिम हप्ता नेपाल भ्रमण गर्ने कुरा लगभग पक्का भएको थियो, तर कुन दिन भन्ने चाहिँ टुंगो लाग्न बाँकी थियो ।

सरकारले भ्रमणको विषयमा आवश्यक तयारी गरिरहेको भनिरहँदा एक्कासी चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भयो भन्ने खबर सार्वजनिक भयो । चीनका राष्ट्रपति नेपाल आउन लागेको भनेर सबैले महत्वका साथ हेरिरहेको बेला यस्तो खबर आएपछि धेरैले सरकारको आलोचना गरे । केपी ओली सरकारकै पालामा सुरु भएको तयारीलाई वर्तमान सरकारले निरन्तरता दिन नसक्दा यस्तो अवस्था आएको हो भन्नेहरु धेरै भए । एमालेका सांसदहरुले त संसदमा यसबारे जवाफ दिन सरकारसँग माग गरे । आलोचना धेरै हुन थालेपछि वर्तमान सरकार जसरी पनि चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउने तयारीमा जुटेको हो ।

‘चीनसँग राम्रो सम्बन्ध रहेका कारण महरालाई सरकारले त्यसतर्फ पठाएको हो’ परराष्ट्र मन्त्रालय निकट स्रोतले भन्यो, ‘महरा जी गएपछि चिनियाँ राष्ट्रपतिको भ्रमण पक्का हुने भयो भनेर बुझ्दा हुन्छ ।’

तर अन्योल उस्तै
असोजको पहिलो हप्ता हुने भनिएको चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण स्थगित भएको हो या होइन भन्नेबारे सरकारले अझै प्रष्ट पार्न चाहिँ सकेको छैन । केपी ओली सरकारको पालामा भएको सम्झौता कार्यान्वयनमा ढिलाई र आवश्यक तयारी नपुगेका कारण भ्रमण स्थगित भयो भन्ने खबर सार्वजनिक हुने बित्तिकै परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकाल्यो ।

तर विज्ञप्तीमा भ्रमण स्थगित भयो भन्ने खबरमा सत्यता नभएको कुरा मात्र उल्लेख छ, भ्रमण हुन्छ कि हुन्न भन्ने कुरा चाहिँ छैन । परराष्ट्र मन्त्रालय निकट स्रोतका अनुसार भ्रमण हुने हो या होइन भन्नेबारे सरकार आफैं अन्योलमा छ । त्यसैले भ्रमण हुन्छ नै भनेर विज्ञप्तीमार्फत प्रष्ट पार्न नसकिएको हो ।

‘भ्रमण हुन्छ नै भन्ने टुंगो पनि लागिसकेको छैन र स्थगित भयो भन्ने कन्फर्म पनि छैन’ परराष्ट्र मन्त्रीका एक सहयोगीले भने, ‘तर भ्रमण स्थगित भयो भनेर चीनले भनेको छैन, त्यसैले भ्रमण स्थगित भयो भन्ने खबरमा सत्यता छैन भनेर मात्र भन्न खोजिएको हो ।’

अक्टोबर १५ र १६ अर्थात आउँदो असोज २९ र ३० गते भारतको गोवामा हुने ब्रिक्स सदस्य देशहरुको शिखर सम्मेलनमा जानुभन्दा एकदुई दिनअघि या शिखर सम्मेलन सकेर फर्किने क्रममा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउने तयारी पहिलेकै सरकारको पालामा भएको हो ।

भ्रमण हुँदा र नहुँदा के हुन्छ ?
असोज अन्तिम हप्ता चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन्छ भन्ने कुरा अघिल्लो सरकारको पालामै भएको हो । केपी ओली नेतृत्वको सरकार हटाउने बेलामा पनि कांग्रेस र माओवादीलाई धेरैले चिनियाँ राष्ट्रपतिको भ्रमणसम्म पर्खन आग्रह गरेका थिए ।

सरकार परिवर्तन हुँदा पनि भ्रमणको तयारीमा असर नपर्ने र भ्रमण हुने कांग्रेस र माओवादीका नेताहरुले बताएका थिए । त्यसो त चीनले पनि नेपालमा जसको नेतृत्वमा सरकार बनेपनि फरक नपर्ने प्रतिक्रिया दिएको थियो । लगत्तै महरा चीनबाट फर्किंदा भ्रमण सुनिश्चित भएको दावी गर्नुभएको थियो ।

यसअनुसार चीनका राष्ट्रपति नेपाल आउँदा अघिल्लो सरकारको पालामा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण उपलव्धी हासिल हुने अपेक्षा छ । खासगरी चीनले अघि सारेको वान बेल्ट वान रोडको बृहत्तर समझदारी पत्रमा हस्ताक्षर हुने सम्भावना छ । यस्तै भ्रमणकै बेला नेपालमा रेल, सडक र पूर्वाधार विकासका लागि चीनले सहयोग गर्ने अपेक्षा छ ।

आर्थिक सहयोगसँगै कुटनीतिक सम्बन्धको पाटो त आफ्नो ठाउँमा छँदैछ । चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित हुने बित्तिकै यी सबै सम्भावना र अपेक्षा पूरा हुन धेरै समय कुर्नुपर्ने हुन्छ । त्यसैले चिनियाँ राष्ट्रपतिलाई जसरी पनि नेपाल भ्रमण गराउन वर्तमान सरकार लागिपरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !