१४ असार २०८१, शुक्रबार

राष्ट्रिय सुरक्षाबारे साझा धारणा आवश्यक छ : उपप्रम पोखरेल


ishor

२९ फागुन, शिवपुरी, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रको सुरक्षा सम्बन्धमा साझा धारणा बनाउनुपर्ने बताउनुभएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीद्वारा कलेजमा संयुक्तरुपमा आयोजित १५ दिने उच्चस्तरीय सिसंचार राष्ट्रिय सुरक्षा तालीमका सहभागीलाई आज यहाँ प्रमाणपत्र प्रदान गर्दै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय एकता र राष्ट्रको सुरक्षा गासिएको छ कि छैन त्यसमा विचार पु¥याउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय एकता र राष्ट्रको सुरक्षाअनुसार राष्ट्रिय सुरक्षा नीति बनाउन लागिएको उहाँले जानकारी दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले अरुदेशसँगको व्यापार पनि राष्ट्रिय सुरक्षासँग गाँसिएको छ छैन सो पनि हेर्नुपर्ने बताउँदै राष्ट्रिय चुनौती र खतराबारे सिङ्गो नेपाली एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

स्थायीत्व सत्तामा बस्नेका लागि मात्र चाहिने कुरा होइन भन्नुहँुदै उपप्रधानमन्त्री पोखरेलले हिंसा र लुट नेपाली जनताका लागि सह्य नहुने बताउनुभयो । निर्वाध व्यापारिक मार्ग तथा मानवीय सुरक्षाका कुरामा हामी सबै एक हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

नेपालमा राष्ट्रिय सुरक्षा विश्वविद्यालयको आवश्यकता औँल्याउँदै उपप्रधानमन्त्री पोखरेलले कसैले यसको के आवश्यकता छ र भन्न सक्छन् तर यसको स्थापना जरुरी छ भन्नुभयो, “हाम्रा पुर्खाको गौरव धुमिल हुने क्रममा छ, त्यसलाई धुमिल हुन दिनु हुँदैन ।”

सैनिक कमाण्ड तथा स्टाफ कलेजका कमाण्डेण्ट ईश्वर हमालले राष्ट्रिय सुरक्षाका सवालमा सरकारी निकाय तथा सुरक्षा निकायका उच्च अधिकारीबीच साझा समझदारी बनोस् भन्ने उद्देश्यले सो तालीम आयोजना गरिएकाले तालीम उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले फागुन १५ गतेदेखि फागुन २९ सम्म सञ्चालित सो तालीममा सहभागी २३ जनालाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नुभयो । तालीममा राष्ट्रिय सुरक्षा, राष्ट्रिय शक्ति, नेपालको राष्ट्रिय सुरक्षा नीति, सुरक्षा र राष्ट्र निर्माण, आर्थिक समृद्घि र राष्ट्रिय शक्ति, नेपालको भू–राजनितिक अवस्था र सैनिक क्षमता, सीमा समस्या, पृथकतावादी गतिविधि, नेपालको आर्थिक अवस्था, भूराजनीति तथा कूटनीतिलगायत विषयमा सेना तथा अन्य क्षेत्रका विभिन्न विषय विज्ञले प्रवचन दिनुभएको थियो ।

सहभागीलाई विज्ञहरु प्रा कृष्ण खनाल, पूर्वसचिव डा शान्तराज सुवेदी, पूर्वराजदूतहरु डा शम्भुराम सिंखडा, महेश मास्के, प्रा डा सुरेन्द्र केसी, सीमाविद बुद्धीनारायण श्रेष्ठ, मधुरमण आचार्य, जयराज आचार्य, डा युवराज सङ्ग्रौला, गेजाशर्मा वाग्ले, राजेश झा, खडग केसी, आनन्दराज खनाल, पत्रकार युवराज घिमिरे, अर्थविद् डा स्वर्णीम वाग्ले, डा विश्व पौडेल, डा भिमार्जुन आचार्य, पत्रकार प्रतीक प्रधान आदिले प्रवचन दिनुभएको थियो ।

यसैगरी, कार्यक्रममा सेनाका सहायक रथी पदमकुमार आङ्बो, उपरथी पूर्ण सिलवाल, रथी बालानन्द शर्मा, रथी शरद गिरी, उपरथी नरेशचन्द्र भट्ट, उपरथी ईश्वर हमाल, उपरथी हिमालय थापा, उपरथी देवेन्द्रबहादुर मेधासी, सहायक रथी आनन्द अधिकारी, सहायक रथी सुरेन्द्र रावलले तालीम दिनुभएको थियो ।

तालीममा नेपाली सेनाका सहायक रथी, सशस्त्र प्रहरीका नायव प्रहरी महानिरीक्षक तथा वरिष्ठ प्रहरी उपरीक्षक, प्रहरी उपरीक्षक, अनुसन्धान विभागका अनुसन्धान निर्देशक, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक, सहप्राध्यापक, राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक, नेपाल टेलिभिजनका उपमहाप्रबन्धक, राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता, परराष्ट्र मन्त्रालयका उपसचिव, राष्ट्र बंैकका उपनिर्देशक, उद्योग मन्त्रालयका उपसचिव, रक्षा मन्त्रालयका उपसचिव तथा स्टाफ कलेजका अनुसन्धान अधिकृतलगायत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकाललगायत उच्च सैनिक अधिकारी तथा पूर्वसैनिक अधिकारी तथा तालीमका आमन्त्रित प्राध्यापक तथा वक्ता उपस्थित हुनुहुन्थ्यो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !