१२ असार २०८१, बुधबार

सरकार कार्यमुखीभन्दा प्रचारमुखी : देउवा


deuva

१९ फागुन, जनकपुरधाम । नेपाली काङ्गे्रसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाउनुभयो ।

नेपाली काङ्गे्रसले सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरेको स्पष्ट गर्दै उहाँले सरकार सङ्घीयतालाई समेत कमजोर बनाउने क्रियाकलापमा लागिरहेको धारणा राख्नुभयो ।

सभापति देउवाले सरकार प्रेसलाई नियन्त्रण गर्न खोजिरहेको छ भन्दै आफ्नो दल प्रेस स्वतन्त्रतालाई कुनै पनि हालतमा कुण्ठित हुन नदिने बताउनुभयो । उहाँले प्रजातन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य भएको अवस्थामा अनलाइन, फेसबुक, ट्विटरलगायत सूचनाको हक, लेख, वाक स्वतन्त्रता हनन गर्न खोज्ने सरकारको क्रियाकलाप काङ्गे्रसलाई सह्य हुनै छैन भन्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले वाइडबडी प्रकरणको वास्तविकता आउनुपर्दछ भन्नुभयो । सभापति देउवाले सीताको जन्मभूमि, गौरवमय इतिहास, मिथिला, मैथिली सभ्यता र संस्कृति, ज्ञान, बौद्धिकताको उद्गमस्थल जनकपुृरधामलाई नै प्रदेश नं २ को स्थायी राजधानी बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले मैथिली भाषा उत्कृष्ट, विकसित र समृद्ध भएकाले प्रदेश नं २ को कामकाजको भाषा मैथिली र प्रदेशको नामकरण मिथिला वा मिथिला–भोजपुरा गर्नुपर्दछ भन्नुभयो । एक प्रसङ्गमा सभापति देउवाले नेपाल विद्यार्थी सङ्घको अधिवेशन छिट्टै हुने पनि बताउनुभयो ।
(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !