७ मंसिर २०८१, शुक्रबार

नेपाल वैज्ञानिक समाजवादतिर नै लाग्नुपर्छ : नेता मानन्धर


Nepalpatra

२९ पुस, काठमाडौँ । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरले यस्तो नेपाल कम्युनिष्ट पार्टीलाई संसदीय र शान्तिपूर्ण रुपबाट बहुमत प्राप्त सरकार भएको यस स्थितिबाट समाजवादतिर हिँडेमा संसारमा नै नमूना देखाउन सकिने बताउनुभएको छ ।

राणाविरोधी आन्दोलनका मुक्तियोद्धा (नेपालगञ्ज–धनगढी) मानन्धरले आफ्नो निवास मैतीदेवीमा रासससँगको अन्तर्वार्तामा मुलुकलाई समाजवादमा लैजान जनताको शिक्षा, स्वास्थ र आवासमा राज्य क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिँदै सरकारले आफूलाई प्राप्त अवसरको भरपूर उपयोग गर्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले त वैज्ञानिक समाजवाद भनेको छु, समाजवाद मात्र भनेर हुन्न । उत्पादनका साधनमा सामाजिक अधिकार हुनुपर्छ, त्यसमा व्यक्तिगत अधिकार हुनुहुन्न । उत्पादनको साधनमा स्वामित्व र वितरण कुन आधारमा हुन्छ, त्यसै आधारमा वैज्ञानिक समाजवाद हो होइन भन्ने थाहा हुन्छ, खालि समाजवाद मात्र भनेर हुन्न । अहिले समाजवाद लोकप्रिय भएकाले समाजवाद नभन्दा दलहरुलाई पनि टिक्न गाह्रो छ ।”

एकातिर समाजवाद ल्याउने भन्ने कुरा नेताहरुले गरेको तर मूल हतियार पार्टी सङ्गठन महीनौँ बित्दा पनि माथिल्ला तह केन्द्रीय समिति र सचिवालयबाहेक तल एकीकरण र सक्रिय नभएकामा चिन्ता व्यक्त गर्दै उहाँले पार्टी निष्क्रिय भई जनतामा कायक्रम लान नसकिएको तर भाषण मात्र भएकाले जनतामा असन्तोष पैदा गरेको उहाँले बताउनुभयो ।

नेकपाको साङ्गठनिक प्रस्ताव र विधान ल्याइए पनि ठोस राजनीतिक प्रस्ताव ल्याउन नसकिएकामा असन्तोष व्यक्त गर्दै उहाँले नेकपा सैद्धान्तिकता र वैचारिकता विषयमा बडो दोधारमा रही विचलन हुने स्थिति देखापरेकाले यसमा नेकपा बडो चनाखो हुनुपरेको औँल्याउनुभयो ।

मजदूरहरुलाई सामाजिक सुरक्षाको कुरा भए पनि यसको कार्यान्वयन हेर्नुपर्छ र समाजवादमा जाने चरित्र हेर्नुपर्छ भन्दै उहाँले समाजवादलाई बल दिनुपर्नेमा नातावाद र आफ्नो मान्छे भर्ना गर्ने पञ्चायती रोग बढेको, फजूल खर्च एवं गाडी र तेलमा खर्च बढेको छ भन्दै उहाँले व्यक्ति र मिडियाको आलोचनाप्रति सहिष्णु हुन सरकारलाई सुझाव दिनुभयो । प्राडा गोविन्द केसीसँगको समझदारी पालना गर्न पनि उहाँले माग गर्नुभयो ।

राष्ट्र र सरकार प्रमुखको सुरक्षाका नाममा सवारी साधनको ताँती लगाई सडक जाम गर्दा जनतालाई पर्ने मर्का नहेरिएकामा असन्तोष व्यक्त गर्दै उहाँले गाउँ र नगरपालिकाका अध्यक्ष र सदस्यले आफ्ना तलब भत्ताप्रति मात्र चिन्ता गरेको तर समग्रमा जनतालाई सेवा पु¥याउने ठोस काम नगरेको भनी ठोकुवा गर्नुभयो ।

“नेकपाले माक्र्सवाद–लेनिनवाद (माले), मजदूर र वर्गको कुरा गरे पनि व्यावहारिक रुपमा काङ्ग्रेस र वर्तमान सरकारको फरकपना भन्नै गाह्रो छ । नेकपाको नेतृत्व र सरकारले सही दिशा समातेर व्यवहार र चरित्रबाट आफूलाई काङ्ग्रेसको सिद्धान्त र व्यवहारबाट फरक बनाउन सक्नुपर्छ, जनताले त्यस्तो अवस्था अनुभूत गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

मालेको मार्गदर्शक सिद्धान्तअनुकूल इमान्दारीपूर्वक काममा सुधार ल्याउनुपर्नेमा जोड दिँदै पुराना राजनीतिज्ञ मानन्धरले नेताको रहनसहन जनतासँग मिल्दोजुल्दो हुनुपर्ने बताउनुभयो । “नेताहरु विलासी जीवनबाट अलग भैदिऊन् । मेरो हार्दिक अभिलाषा छ नेताहरु सही दिशामा गइदिऊन्”, सादगी नेता मानन्धरले भन्नुभयो ।

माले शब्दले मात्र होइन त्यसप्रति निष्ठा राख्दै जनतासँग जोडिन तथा सत्तासँग समझदारी गरी आफ्नो स्वार्थ पूरा गर्ने तप्काबाट एवं आसेपासे, पूँजीवादी र व्यापारी जोगिन सल्लाह दिँदै उहाँले त्यस्ता समूहबाट सञ्चाालित नभई तिनसँग सचेत रहेर माक्र्सवाद–लेनिनवादप्रति निष्ठा राखी जनताको जीवनमा सक्दो परिवर्तन आजै गरेर अगाडि बढ्न सरकार र राजनीतिक नेतृत्वलाई सुझाव दिनुभयो ।

उनानब्बे वर्षीय नेताको आग्रह छ, पुराना राजनीतिक व्यक्तित्वहरुले सरकारलाई वैचारिक र साङ्गठनिक सहयोग गर्न सक्छन् तर उमेरका कारण साङ्गठनिक रुपले संलग्न नभए पनि, दौडधूप गर्न नसके पनि आफूलाई लागेको कुरा भन्नुपर्छ, चुप लाग्नुहुँदैन, समयमै बोल्नुपर्छ, सही र गलत कुराबारे बोलेर भूमिका खेल्नुपर्छ ।

सरकारको परराष्ट्र नीति छिमेकीसँगको प्राथमिकता हुनु स्वाभाविक भए पनि त्यसैमा मात्र अल्झेर नबसी संसारभरि आफ्नो मित्रता बढाउन सल्लाह दिँदै उहाँले पार्टी विशेषको नभई समग्र मुलुकको परराष्ट्रनीति हुुुनुपर्ने र यसमा मूलधारका पार्टीबीच समान समझदारी विकास भएमा सरकार बदलिए पनि धोका खाने सम्भावना नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा प्राकृतिक स्रोतसाधन छन् । दुवै छिमेकी नयाँ शक्तिका रुपमा उदाउँछैन् । यसैले हाम्रो भविष्य पनि उज्यालो हुन सक्नुपर्छ । यसका लागि जनतामा आलोचनात्मक चेतना तथा नेतृत्वमा निष्ठा र इमान्दारी हुनुपर्छ । नेपालको प्राकृतिक र भौगोलिक उपयोग गर्न सकेमा नेपालको भविष्य उज्यालो छ ।”

विसं २०४६ र २०६२/६३ को आन्दोलनमा संयुक्त वाममोर्चा र संवामो नेपालमा पार्टीगत सहभागिता जनाउनुभएका नेता मानन्धर विसं २०६३ असोज ७ गतेदेखि तत्कालीन नेकपा (संयुक्त माक्र्सवादी) को महासचिवबाट राजीनामा दिई सक्रिय राजनीतिबाट अलग हुनुभएको छ ।

हाल केही अस्वस्थ हुनु भए पनि उहाँ पुत्र युवा नेता सुनिल मानन्धर र बुहारी राधा भट्टराईका साथ रही आफ्ना राजनीतिक संस्मरण लेख्न तल्लीन हुनुहुन्छ । रौतहट, गौरमा जन्मनुभएका उहाँको करीब एक दशकअघि राजनीतिक दस्तावेज, लेखरचना र अन्तर्वार्ताहरुको सङ्ग्रह प्रकाशन भइसकेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !