१२ असार २०८१, बुधबार

उत्तर कोरियाली नेता कीमको सिओल भ्रमण चाँडै : मून


South Korea's new President Moon Jae-In speaks during a press conference at the presidential Blue House in Seoul

१५ कात्तिक, सिओल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता कीम जोङ अनले चाँडै सिओलको भ्रमण गर्नुहुने बताउनुभएको छ ।

गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका क्रममा उत्तर कोरियाली नेता कीमले चाँडै दक्षिण कोरियाको भ्रमण गर्ने सहमति भएको थियो । तर भ्रमणको समयका बारेमा निर्णय भएको थिएन ।

तर दक्षिण कोरियाली राष्ट्रपति मूनले यसै वर्ष कीमले दक्षिण कोरिया भ्रमण गर्ने बताउनुभएको थियो । सांसदहरुको प्रश्नको बिहीबार जवाफ दिँदै मूनले शान्तिका लागि कोरियाली प्रायःद्वीप ऐतिहासिक मोडमा पुगेको बताउनुभयो ।

“उत्तर कोरियाली नेता कीम जोङ अनको रुस भ्रमण र चिनीया राष्ट्रपति सी जिनपिङको उत्तर कोरिया भ्रमण चाँडै हुँदैछ,” मूनले भन्नुभयो । उहाँले कीम र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच पनि भेटघाट हुने सम्भावना बढेको बताउनुभयो ।

राष्ट्रपति मूनले भन्नुभयो, “अध्यक्ष कीम जोङ अनको सिओल भ्रमण चाँडै हुनेछ ।” तर उहाँले भ्रमणबारे विस्तृत जानकारी दिनु भएन ।

कुटनीतिक पहल निकै बाक्लो भइरहे पनि सिओल र वासिङ्टनबीच पछिल्ला समयमा मतभिन्नता देखिन थालेका छन् । दक्षिण कोरियाको मित्रशक्तिका रुपमा रहेको अमेरिकाले उत्तर कोरियाको चुनौती सामना गर्न दक्षिणमा करिब २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ गरेको छ ।

मून, कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा अमेरिका र उत्तर कोरियाबीच कोरियाली प्रायःद्वीपमा शान्ति स्थापना गर्न आणविक निःशस्त्रीकरण गर्नेसम्बन्धी सम्झौता भएको थियो । तर, यो सम्झौतापछि खासै प्रगति भएको छैन ।

संयुक्तराज्य अमेरिकाले उत्तर कोरियामाथिका आर्थिक प्रतिबन्धहरु फुकुवा गरेको छैन । अमेरिकाले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको भरपर्दो र विश्वसनीय आधार प्रस्तुत नगरेको भन्दै निरन्तर दबाब दिइआएको छ । उत्तर कोरियाले आर्थिक प्रतिबन्ध तत्काल फुकुवा गर्न अमेरिका सहित अन्य मुलुकसँग आग्रह गरिरहेको छ ।

अमेरिकी विदेश मन्त्रालयले यसैसाता सिओल र वासिङ्टनबीच समन्वयात्मक कार्यहरुलाई थप गति दिन नयाँ कार्यसमूह गठन गर्ने सहमति भएको जनाएको छ ।

यसै महिना हुने अमेरिकी मध्यावधि चुनावपछि अमेरिका र उत्तर कोरियाबीच थप वार्ता र उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदैछन् ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !