७ मंसिर २०८१, शुक्रबार

चालु आव अध्ययन र योजना निर्माणको वर्ष


hemantabahadur shahi

१९ असोज, कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष २०७५/७६ लाई अध्ययन र योजना निर्माणको वर्ष भएको बताउनुभएको छ ।

स्थानीय तहका पदाधिकारीसँग विकास तथा विविध विषयमा छलफल गर्न यहाँ पुग्नु भएका मुख्यमन्त्री शाहीले आज आयोजित पत्रकार भेट्घाट कार्यक्रममा कर्णालीका १० वटै जिल्लाको भूमि, जनताको आयआर्जनको स्रोत, बसोबासको प्रकृति, खाद्य उत्पादन, शिक्षा, स्वास्थ्य, विद्युुत, सडक, पर्यटन, खानेपानी, सञ्चारलगायतका विषयको अध्ययन यही वर्षभित्र गरिने जनाउनुभयो ।

“यहाँको विकासमा देखिएका समस्याको समधानसहितको अध्ययन गर्छौं,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “त्यही अनुसार कर्णाली प्रदेश विकास निर्माणको योजना निर्माण हुन्छ ।” छरिएका बस्तीका कारण शिक्षा, स्वास्थ्य, विद्युुत, सडकजस्ता क्षेत्रमा राज्यको बढी खर्च लाग्ने देखिएको जनाउँदै उहाँले भन्नुभयो ।

“राज्यलाई आर्थिक व्ययभार घटाउन र नागरिकलाई राज्यबाट प्रवाह गरिने सेवा सुलभ र सहज गराउन एकीकृत बस्ती विकास कार्यलाई अघि बढाउने तयारीमा छौँ,” उहाँले भन्नुभयो । सङ्घीय र प्रदेशको कानून नबन्दा प्रदेश सरकारले विकासको परिणाम देखिने गरी काम गर्न नसकेको उहाँको भनाइ थियो । राज्य र नागरिकबीचको कार्यशैलीमा एकरुपता नआउँदासम्म विकासको प्रतिफल पाउन नसकिने उहाँले बताउनुभयो ।

कालिकोटबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मराज शाहीले सङ्घीय सरकारले राष्ट्रिय गौरवका योजना निर्माण गर्ने र प्रदेश सरकारकाले निरन्तर विकास गर्ने कुरा कार्यान्वयनमा आउनुपर्ने बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !