११ असोज, काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुईहप्ते लामो युरोप भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ ।
नेपाली जनसम्पर्क समितिका विभिन्न कार्यक्रममा भाग लिएर आज बिहान १०ः३० बजे उहाँ स्वदेश फर्कनुभएको हो ।
स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले जनतालाई सुरक्षाको अनुभूति दिन नसकेको आरोप लगाउनुभयो । “निर्मला पन्तको हत्या भएको दुई महीनासम्म पनि दोषी पत्ता लगाउन नसक्नु, राजधानीमै पूर्वराजदूतको हत्या हुँदासमेत दोषीलाई पत्ता नलगाउनुले पनि सरकारले सुरक्षाको अनुभूति दिन नसकेको देखिन्छ,” उहाँले भन्नुभयो ।
उहाँले संशोधन हुन लागेको पार्टीको विधानमा जनसम्पर्क समितिलाई पार्टीको महाधिवेशनमा भाग दिन पाउने अधिकार कटौती गर्न नहुने बताउनुभयो । “निर्वाचनमा समेत भोट दिन पाउनुपर्ने आवाज उठिरहेका बेला पार्टीको विधानमा भोट दिन पाउने अधिकारलाई कटौती गर्न हुँदैन,” उहाँले भन्नुभयो ।
नेता पौडेलले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन जुन तरिकाले हुनुपर्ने हो त्यो हुन नसकेको बताउँदै निर्वाचन नगरेर तदर्थ समिति गठन गरे आफूलाई मान्य नहुने स्पष्ट पार्नुभयो ।(रासस)