१० असोज, न्यूयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीसँग भेटवार्ता गर्नुभएको छ ।
उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अझै क्रियाशील तुल्याउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।
सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको समेत उपस्थिति रहेको थियो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुग्नुभएको हो ।(रासस)