७ असोज, अबुधाबी। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राती अबुधाबी आइपुग्नुभयो ।उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि हुनुहुन्छ ।
अबुधाबी विमानस्थलमा उहाँलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले स्वागत गर्नुभयो ।
असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ । प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ ।(रासस)