२ जेष्ठ २०८१, बुधबार

बिम्स्टेक सम्पन्न हुनु राष्ट्रको गौरव : राप्रपा


rajpa

२ असोज, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले मुलुक भित्रका समस्या र चुनौतीबीच देशमा बहुक्षेत्रीय प्राविधिक सहायताका लागि बङ्गालको खाडीको प्रयास(बिम्सटेक) शिखर सम्मेलन हुनुलाई राष्ट्रको गौरवको विषयका रुपमा लिएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज देखि काठमाडौँमा शुरु भएको सो बैठकमा छिमेकी मित्रराष्ट्र चीनसँग पारवहन तथा यातायातसम्बन्धी प्रोटकलमा सहमति हुनुलाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने जनाइएको छ ।

बैठकमा पार्टी अध्यक्ष थापाले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदनमा सैन्य अभ्यासको सन्दर्भमा सरकारले लिएको ढुलमुले र अस्थिर नीतिले नेपालको सन्तुलित परराष्ट्र नीति र छिमेकी राष्ट्रसँगको सम्बन्धमा अपरिपक्वता देखिएको उल्लेख गर्नुभएको थियो ।

संविधान जारी भएपछि भएका चुनावबाट गठन भएको सरकारले आर्थिक, राजनीतिक तथा सामाजिक रुपान्तरणमा जनअपेक्षा पूरा गर्न नसकेका कारण छोटो समयमा नै जनता निराश भएको विषयमा चिन्ता व्यक्त गर्दै प्रतिवेदनमा मुलधार र संस्थापन पक्ष भएको हुँदा केन्द्रीय कार्यसमितिको बैठकमार्फत विगतमा सँगै काम गरेका र समान विचारधारा भएका दललाई एकतामा आउन आग्रह गरिएको छ ।

पार्टीका उपाध्यक्ष दिलविकाश राजभण्डारीका अनुसार उक्त बैठकमा महामन्त्री भास्कर भद्राले सचिवालय र सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको छ । बैठकमा ७ मध्ये ५ वटा प्रदेश कार्य समितिका अध्यक्षले प्रदेश सङ्गठनसम्बन्धी प्रतिवेदन पेश गर्नुभएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !