१२ असार २०८१, बुधबार

रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु भयोः प्रधानमन्त्री


kp-oli

काठमाडौँ , ७ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेलामा ‘रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु गरिएकाले’ यसले मुलुकमा राजनीतिक अस्थिरता वृद्धि गर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसका सन्दर्भमा एक सन्देश जारी गर्दै उनले पछिल्ला केही दिनयताका घटनाबाट सिङ्गो मुलुक र लोकतन्त्रका पक्षधर जनता चिन्तित र गम्भीर भएको र यसले जनताको आधारभूत हितमा आँच पुर्याउने चिन्ता व्यक्त गरेका छन् ।
उनले यस्ता घटनाले अन्ततोगत्वा मुलुकलाई पछाडि धकेल्ने जोखिम उत्पन्न गर्ने बताएका छन् ।
“सङ्कीर्ण दलीय या व्यक्तिगत स्वार्थप्रेरित कदमले राष्ट्रलाई दूरगामी नकारात्मक असर पु¥याउन सक्ने यथार्थप्रति गम्भीर हुन र लोकतान्त्रिक शक्तिबीचको एकतालाई कमजोर गर्ने गतिविधि नगर्न म सम्बद्ध सबैलाई हार्दिक आह्वान गर्दछु”, नेकपा (एमाले) का अध्यक्ष समेत रहनुभएका ओलीले भनेका छन् ।

संविधानको प्रभावकारी कार्यान्वयनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, समावेशी र सङ्घीय शासन प्रणाली जस्ता उपलब्धिलाई सुदृढ गर्नु र सुखी जनता र समृद्ध राष्ट्र निर्माणको लक्ष्य हासिल गर्नु यतिबेलाको सबैभन्दा महत्वपूर्ण र साझा राष्ट्रिय दायित्व हो भन्दै उनले राष्ट्रिय स्वाभिमान, स्वतन्त्र आत्मनिर्णयको अधिकार र नेपालको सार्वभौम हैसियतलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष, सामाजिक मुक्ति एवम् राष्ट्रिय स्वाधीनताका आन्दोलनमा नेता पुष्पलालका योगदान अविस्मरणीय छ भन्दै उनले राजतन्त्रको अन्त्य र लोकतन्त्र प्राप्तिका लागि सबै लोकतान्त्रिक शक्ति संयुक्त आन्दोलनको बाटामा अगाडि बढ्नुपर्ने उनको दूरदर्शी प्रस्तावकै आधारमा २०४६ सालको संयुक्त जनआन्दोलन सफल भएको उल्लेख गरे ।

“लोकतान्त्रिक शक्तिबीचको अस्वस्थ प्रतिस्पर्धा र विभाजनका कारण उक्त उपलब्धि संस्थागत हुन नसकी गुमेर मुलुक फेरि प्रतिगमनको बाटामा गयो तर हामीले फेरि संयुक्त जनआन्दोलनको त्यही मर्मलाई पुनः आत्मसात् गरेर २०६२÷६३ को परिवर्तन सम्भव तुल्यायौँ, मुलुकमा गणतन्त्र स्थापना गर्न सफल भयौँ र नेपालको संविधान घोषणा गरेर नयाँ युगको आरम्भ गर्न सकेका छौँ ।” परिवर्तनका हरेक मोडमा पुष्पलालका विचारले मार्गदर्शन गरिरहेको सन्देशमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !