१२ असार २०८१, बुधबार

प्रधानमन्त्रीलाई भेट्न मैले नौ पटकसम्म प्रयत्न गरेँ: सभामुख


onsari gharti

सभामुख ओनसरी घर्तीले पछिल्लो राजनीतिक घटना पेचिलो बन्दै गएको र आफूले सकेसम्म संयमित र सन्तुलित भूमिका निर्वाह गर्न खोजेको बताएकी छन्।

अनलाइन मिडियाका पत्रकारसँग सोमबार उनकै निवासमा कुरा गर्दै सभामुख घर्तीले भनिन्, ‘अविस्वासको प्रस्ताव दर्ता भएपछि बजेट सम्बन्धी विधेयक संसदबाट पास गर्ने कुरामा सभामुखले पक्ष लिए भन्ने आरोप मैले पनि सुनेकी छु, यथार्थ त्यस्तो होइन।’

सकेसम्म पार्टीहरूबीच सहमति होस् भनेर आफूले अन्तिम समयसम्म प्रयत्न गरेको दावी उनले गरिन्।

‘अविश्वासको प्रस्ताव दर्ता भएपछि मैले प्रमुख पार्टीका प्रतिनिधिलाई राखेर तीन दिनसम्म लगातार प्रयत्न गरेँ। म आफैं पनि विद्येयकहरू रोक्नु हुन्न, पास गर्नुपर्छ भन्ने पक्षमा थिए। तर त्यसमा सहमति हुन सकेन,’ उनले भनिन्।

विवादका बीच समय घर्केर साउन महिना लागे पछि ती विधयेक पहिला पास गर्नु र पछि पास गर्नुमा कुनै फरक नपर्ने हुँदा आफूले अविश्वासको प्रस्तावमा पहिले छलफल र भोटिङ हुने निर्णय गरेको उनले बताइन्।

‘प्रधानमन्त्रीलाई पनि मैले शुरूदेखिनै विधयेकको सट्टा अविश्वासको प्रस्तावमै भोटिङ गराउन खोजेको भएर भनिएको रहेछ’, उनले भनिन्, ‘आज बिहान भेटेर आफ्ना कुरा बुझाएँ।’

संसदमा विवाद उत्पन्न भएदेखिनै आफूले प्रधानमन्त्रीलाई भेट्न बारम्बार प्रयास गरेको उनले दाबी गरिन्। ‘मैले नौ पटकसम्म उँहालाई भेट्न खोजेँ, कतिपटक आधा घण्टासम्म पर्खीए तर सम्भव भएन।’

उनले आज प्रधानमन्त्रीलाई भेटेपछि सुरूमै भेट्न पाएको भए यति धेरै भ्रम नरहने रहेछ भन्ने लागेको छ। ‘प्रधानमन्त्रीलाई पनि गलत सूचना पुर्‍याइएको रहेछ,’ उनले भनिन्।

सोमबार साँझ तीन प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलको निष्कर्ष निस्किनसकेको सभामुखको ठम्याई छ।

‘प्रधानमन्त्रीले पनि हामीले सबै कुरा छलफल गर्‍यौ तर, ठ्याक्कै निष्कर्षमा पुगेका छैनौं भन्नुभयो’, उनले भनिन्, ‘तर प्रधानमन्त्रीले पनि आफू प्रमुख पार्टीहरूबीच सहमतिकै पक्षमा छु भन्नुभयो, त्यो मेरा लागि सन्तोषको विषय हो।’

पार्टीहरुले सहमतिका लागि थप प्रयत्न गर्ने निर्णय गरे अविश्वाशको प्रस्तावमाथिको छलफल थप केही दिन सार्न सकिने तर्फ पनि उनले संकेत गरिन्।

‘पार्टीहरू बीच थप संवाद र छलफल होस् भन्ने मेरा चाहना हो, त्यो दिशा तर्फ़ राजनीति अघि बढ्यो भने संसदमा छलफल केही दिनका लागि सार्नुपर्छ भन्ने सुझाव पनि आएको छ,’ उनले भनिन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !